पौडेलले प्रदेश सभापतिमा उम्मेदवारी दिने
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको सभापतिमा नेपाली काँग्रेस तनहुँका पुर्वसभापति रघुनाथ पौडेल उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मंसिर १६ र १७ गते पोखरामा हुने कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा नेता पौडेलले उम्मेदवारी दिने घोषणा गरेका हुन् । गृहजिल्लामा बिहीबार पत्रकार सम्मेलन गरी नेता पौडेलले काँग्रेसलाई वैचारिक र सांगठनिक हिसाबले बलियो बनाउन प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।
‘पैसा र गुण्डासंग सक्दिन तर विचारमा मलाई हराउने कोही छैन’ नेता पौडेलले भने ‘जित्छु भन्नेमा ढुक्क छु, प्रदेशका सबै जिल्लाका साथीहरुले पनि सहयोग गर्ने आश्वासन दिनु भएको छ । मलाई आफ्नो गृहजिल्लाबाट पूर्ण समर्थन छ ।’ आफुलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ग्रिन सिग्नल दिसकेको बताउँदै उनले भने ‘मैले वरिष्ठ नेतासंग छलफल गरे, उहाँले गो अहेड भन्नुभो त्यसैले म अघि बढेको हुँ । मलाई महामन्त्रीको समेत साथ छ ।’
पौडेल २०३२ देखि २०४३ सालसम्म नेपाली काँग्रेस तनहुँको सदस्य भै निरन्तर विभिन्न पदमा रहेर आएका अग्रज नेता हुन । सदस्य, सचिव र उपसभापति हुँदै उनी नेपाली कांग्रेस तनहुँको तीन कार्यकाल जिल्ला सभापति भएका थिए । राजनीतिका अलावा तनहुँ लायन्स क्लव, एम्नेष्टी इन्टरनेशनल, शिक्षण पेशामा आवद्ध भएर काम गरेका थिए ।
यस्तै, अन्य पार्टीहरुले प्रदेश संरचना बनाइ सक्दा समेत काँग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन । १४औं महाधिवेशनमा आएर पार्टीले प्रदेश संरचना बनाएसँगै प्रदेशको नेतृत्वका लागि काँग्रेसका नेताहरुमा हानथाप भइरहेको छ ।
काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीका तीन जनाले दावी गरेका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले पनि सभापतिका लागि आकांक्षा व्यक्त गरेका छन् ।










