तनहुँका तीन युवासहित चोरीमा संलग्न मामा–भान्जाको गिरोह पक्राउ

पोखरा महानगरपालिकाभित्र ९ ठाउँ र तनहुँका ३ ठाउँमा चोरी

पोखरा : पोखरामा संगठित रूपमा चोरी गर्ने नातेदारको एउटा गिरोह पक्राउ परेको छ । चोरीमा संलग्न र चोरीको सामान खरिद गर्ने सुनचाँदी व्यवसायी गरेर ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेका २६ वर्षीय सुवास विक, सोही ठाउँका २३ वर्षीय विमल विक, शुक्लागण्डकी–११ का २२ वर्षीय गणेश सुनार, स्याङजा पुतलीबजार नगरपालिका–९ काल्खु घर भई पोखरा–२ बस्ने ३३ वर्षीय सुरेश विक र स्याङ्जा काल्खु घर भई पोखरा–१० बस्ने ५३ वर्षीय दुर्गाबहादुर थापालाई प्रहरीले वैशाख २६ यता विभिन्न मितिमा पक्राउ गरेको हो ।

उनीहरूको औंठी, सुनको ढिक्का, पोते, माला, मंगलसुत्र, छड्के तिलहरीसहित १२ तोला ८ लाल सुनका गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । औंठी, सिक्री, बाला, पाउजु, चुरीलगायत २४ तोला बराबर चाँदीका गरगहना र चोरी गर्न प्रयोग हुने सामान पनि बरामद भएको उनले बताए ।

यस गिरोहले ६९ लाख ३ हजार २ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको जाहेरी प्रहरीमा परेको छ । थप जाहेरी आउने क्रम जारी रहेकाले उनीहरू संलग्न चोरीका घटना र चोरी भएको धनमाल बढ्न सक्ने उनले बताए ।

पक्राउ परेका सुवास र दुर्गाबहादुर नाताले मामा–भान्जा हुन् । सुवासले चोरीका गरगहना दुर्गाबहादुरको पोखरा–१० रामबजारस्थित स्याङ्जा कोल्माकोट सुनचाँदी पसलमा ल्याएर दिन्थे । पक्राउ परेका विमल सुवासको ठूलाबुवाका छोरा हुन् । विमलले सुवास चोरी गर्न लैजाने–ल्याउने गर्ने खुलेको छ ।

चोरीमा प्रयोग हुने ग२२प ४९८९ नम्बरको मोटरसाइकल पनि चोरीकै हो । यो मोटरसाइकल सुवासलाई उनका दाइले दिएका थिए । दाइ नरबहादुर विक हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा छन् । घटनामा संलग्न गणेश र सुरेश योजनाकार सुवासका फूपूका छोरा हुन् । उनीहरू कालीगढ हुन् ।

यो गिरोहले सीसीटिभि नभएका ठाउँमा चोरी गर्ने, गरगहना र नगदमात्र चोर्ने गरेको खुलेको छ । उनीहरूले १२ ठाउँमा चोरी गरेको प्रारम्भिक बयान दिएका छन् । पोखरा महानगरपालिकाभित्र ९ ठाउँ र तनहुँका ३ ठाउँमा चोरी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

सुवासले चोरी गरेकै कसुरमा ५ वर्ष कैद र ३ लाख ५० हजार जरिवाना यसअघि भुक्तान गरेको भेटिएको छ । ०७४ असार १४ मा कास्की जिल्ला अदालतले सुनाएको कैद सजाय भुक्तान गरेर उनी ०७९ जेठ १० मा छुटेका थिए । त्यसपछि काम गर्न ३ महिना कतार पनि गएका थिए । फर्किएपछि दाजु–भाइ र मामासँग मिलेर फेरि चोरीमा संलग्न भएका हुन् ।

सुनचाँदी पसल सञ्चालक दुर्गाबहादुरमाथि ०५७ र ०६४ मा जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक मुद्दामा, ०८० मा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाले चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

चोरीमा प्रयोग गर्ने मोटरसाइकल र ग२१प ६७५३ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले थप अनुसन्धान सुरू गरेको छ । इकान्तिपुरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker