व्यास नगरपालिकाको ५ र ७ वडा जोड्न मादी नदीमाथि मोटरेवल पुल निर्माण

भञ्ज्याङ समाचारदाता/दमौली

दुइ वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ । तनहुँको व्यास नगरपालिका-५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो । संघीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ । उक्त पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको एम/एस इन्दे्रणी निर्माण सेवा प्रालिका सञ्चालक बलबहादुर रानामगरले बताए । उनले भने, ‘नदीको बहाव कम भएको अवस्थामा नै काम गरिरहेका छौं ।’

‘फाउन्डेसन र सबस्ट्रक्चर, डेक स्लाप, रोड एसेस र नदी संरक्षणसहितको काम गर्नेछौँ । यही हाम्रो मुख्य काम हो । विकाससँगै नदी संरक्षण हाम्रो दायित्व हो । सोही अनुसार काम गरिरहेका छौँ’, उनले भने, ‘पुल समयमा नै निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको छ ।’

१२५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गरिने छ । विसं २०७९ पुस १४ मा रु २० करोड नौ लाख ५३ हजार तीन सयमा ठेक्का सम्झौता भएको थियो । उक्त पुल निर्माणको काम विसं २०८२ पुस ६ मा सकिने गरी सम्झौता भएको छ । साबिक श्याम्घा र क्यामिन गाविसलाई जोड्नका लागि विसं २०५२ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि पैदल यात्रा सहज भए पनि सामग्री ढुवानीमा सकस हुँदै आएको थियो । एउटा गाउँबाट अर्को गाउँमा सामग्री ढुवानी गर्नुभएको सकसको अन्त्यका लागि स्थानीयबासी लागिपरेका थिए ।

विसं २०६३ पुस ३ गते कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा बसेको १९१ जनाको भेलाले मोटरेवल पुलको माग गरेको थियो । उक्त समितिले तत्कालीन सरकारसँग पटक-पटक मोटरेबल पुलको माग तथा प्रस्ताव पेस गर्दै आएको थियो । समितिले विसं २०६३ मा राष्ट्रिय योजना आयोगमा मोटरेबल पुलको मागसहित पुगेको स्थानीय प्रदीप घिमिरेले बताए ।

उनका अनुसार तनहुँ टुहुरे-पुसल-कलेस्ती मार्ग अन्तर्गत कलेस्ती बजार वरपर मादी नदीमा एक मोटरेबल पुल निर्माण गरिनुपर्नेमा जोड दिइएको थियो । यस क्षेत्रका उपभोक्तालाई सहजरूपमा सामान र मानिस सवारीसाधनबाट वारपार गर्न मोटरेबल पुलको माग गर्ने निर्णय समितिले गरेको थियो । यस निर्णयसहित कृष्णप्रसाद घिमिरे, मायानाथ कोइराला, प्रदीप घिमिरे, वर्तमान वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको टोली योजना आयोगमा मोटरेबल पुलको माग गर्न पुगेका थिए । पटक-पटकको माग १७ वर्षपछि बल्ल पूरा हुँदै गएको घिमिरेले बताए । पुल निर्माणपछि यहाँका स्थानीयले सामान ढुवानी र मानिस आवतजावतमा नै सवारीसाधन उपयोग गर्न पाउने भएका छन् ।

पुल निर्माणले व्यास-५ चिन्टुटारका स्थानीय बढी लाभान्वित हुने भएका छन् । यस क्षेत्रमा पुग्न सडक भएपनि पुल नहुँदा घुम्ती बाटो उपयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका स्थानीयले जोखिम मोलेर नै झोलुङ्गे पुलमार्फत दुइपाङ्ग्रे सवारीसाधनमार्फत सामग्री ढुवानी र आवतजावत गर्ने गरेका थिए । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुल निर्माण हुन थालेपछि यहाँका स्थानीयमा खुसी छाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker