दमौली नारायणगढ जोड्न करिब २५ किलोमिटर दुरी छोटो पर्ने घुमाउने घाटको पुल निर्माणमा ढिलासुस्ती

दुइ वर्षअघि नै ठेक्का लागेको तनहुँ र चितवन जोड्ने घुमाउनेघाटको पुल निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको छ। २०७५ माघदेखि सुरु भएको पुल निर्माण दुइ बर्ष वित्दा पनि जमिनबाट माथि उठ्न सकेको छैन । सो पुल डिजाइन एण्ड विल्डका आधारमा निर्माण गर्ने गरी हेटौंडाको मृत सञ्जिवनीलाई ठेक्का दिइएको हो ।
ठेकेदार कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिन नारायणगढ सडक आयोजनाको अवरोधका कारणले काममा ढिलाइ भएको दावी गर्दै आएको छ ।
आउँदो पुससम्ममा पुल निर्माण गरिसक्ने भनी ठेकेदार कम्पनीले सम्झौता गरेको थियो । तर तोकिएको समयमा काम नसकिने पक्का छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख अमृत श्रेष्ठले ठेकेदारले अबको एक बर्षभत्र पुलको काम सकेर जिम्मा लगाउने प्रतिवद्धता गरेको बताए। ‘पुसमा म्याद सकिन्छ, म्याद थपको माग पनि गर्ला, अवस्था हेरेर निर्णय लिन्छौं’ प्रमुख श्रेष्ठले भने, ‘तर अब कुनै पनि वाहनामा काम रोक्न मिल्दैन ।’ उनले काम नसके १० प्रतिशत हर्जना तिराउने चेतावनी दिए ।
ठेकेदार कम्पनीले १५/२० जना कामदार राखेर बल्ल पुलको फाउण्डेसनको काम गरिरहेको छ। हालै पुल निर्माण हुँदै गरेको क्षेत्रको अनुगमन गरेका तनहुँ क्षेत्र नं १ का सांसद किसान श्रेष्ठले पुल निर्माणको कामलाई तत्काल गति दिन आग्रह गरेको बताए । ठेकेदार कम्पनीका प्रतिनिधि दिवस उप्रेतीले एक बर्षभत्र पुलको आधारभूत काम सक्ने गरी काम गरिरहेको दावी गरे । उनले कोरोना भाइरसको महामारीका कारणले समयमा नै काम गर्न नसकिएको बताए ।
पुलको चितवनको तर्फो पिल्लर र सडकका कारणले नारायणगढ मुग्लिन सडकखण्ड भासिन सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी माग गर्दा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दावी छ । ठेकेदार कम्पनीले १० प्रतिशत पेश्कीसमेत लगिसकेको छ । पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छरु।
यो घुमाउनेघाटमा पुल बन्दा नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरी भन्दा २५ किलोमिटर छोटो हुन्छ । दमौलीबाट घुमाउनेघाटसम्म स्तरीय सडक निर्माण भइरहेको छ । अहिले मुग्लिन, आबुँखैरेनी, डुम्रे हुँदै दमौली जाने गरिन्छ । मोटरेवल पुल नहुँदा तनहुँको धरमपानी, प्यूघर, सराङघाट लगायतका स्थानीयलाई आउजाउमा समस्या छ ।
तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू आउने जाने गरेका छन् । तर पुल नहुँदा ती बसहरू नारायणगढ-मुग्लिनसडकखण्डसम्म आउन सक्दैनन् । तनहुँको सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । सेती नदीको किनारै किनार घुमाउनेघाट, प्युघर, सराङघाट, मासीघाट, सुँढे, बेलवास हुँदै दमौली पुग्न सकिन्छ।
घुमाउनेघाटमा भएको झोलुङ्गे पुलबाट मानिसहरु मुग्लिन नारायणगढ सडकसम्म आउने जाने गर्छन् । पुलको निर्माणपछि नारायणगढ आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिनसम्मको थप २५ किलोमिटर सडक प्रयोग गर्नु पर्दैन ।










