बन्दीपुरको हटि्टयामा सञ्चालित आँखा शिविरमा १५० जनाको आँखा परीक्षण
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रे साँकृतिक यूवा परिवारले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । यूवा परिवारले बन्दीपुर-६ हटि्टयास्थित अरुण माध्यमिक विद्यालय हटि्टयामा आँखा परीक्षण शिविर सञ्चालन गरेको हो ।
हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र बन्दिपुर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा १५० जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा स्थानीयलाई निःशुल्क चस्मा र औषधी प्रदान गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले जानकारी गराए ।
शिविरको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले मानव जीवनमा आँखाको महत्व अत्यन्तै ठुलो रहेको चर्चा गर्दै स्वास्थ्य क्षेत्र प्रति स्थानीय सरकार सदैभ सचेत रहेको बताइन् ।
स्थानीय संघ संस्था, क्लवहरूले आयोजना गर्ने यस्ता सामाजिक कार्यक्रममा बन्दीपुर गाउँपालिका हातेमालो गर्दै अगाडि बढेको ग्रामीण क्षेत्रका बासिन्दा सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नेमा ध्यानकेन्द्रित गरिएको उनले बताइन् ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष बल बहादुर गुरुङ, डुम्रे साँस्कृतिक यूवा परिवारका पूर्व अध्यक्ष राजेश पिया, बागेश्वरी यूवा क्लवका अध्यक्ष नविन गुरुङ, साँस्कृतिक क्लवका पूर्व कोषाध्यक्ष दिक्पाल श्रेष्ठ, सदस्य ध्रुव श्रेष्ठ, अर्जुन बसियाल, प्राविधिक पल्वि सुल्पि, शशि रुपा खेती र धर्मराज पौडेल लगायतले शिविर सञ्चालनमा सहजिकरण गरेका थिए ।
उक्त शिविरमा परीक्षणका लागि आएका ४ जनालाई थप उपचारको लागि हिमालयन आँखा अस्पताल घारीपाटन पठाइएको छ ।










