तनहुँको आँवुखैरेनी वित्त आयोगको मूल्याङ्कनमा देशकै ५१, गण्डकीको दशौ स्थानमा
भञ्ज्याङन्यूज

तनहुँको आँवुखैरेनी गाउँपालिका वित्त आयोगको मूल्याङ्कनमा देशकै ५१औं स्थानमा र गण्डकी प्रदेशका पालिकाहरुमा १०औं स्थानमा परेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रकाशित अन्तिम नतिजा अनुसार आँबुखैरेनी गाउँपालिकाले ६९.६८ अंक प्राप्त गरी देशभरका ७५३ स्थानीय तहमध्ये ५१औ स्थान प्राप्त गरेको हो ।
यस्तै, गण्डकी प्रदेशमा दशौ स्थानमा परेको आँबुखैरेनी तनहुँका १० पालिकाहरुमा भने प्रथम भएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले उत्कृष्ट नतिजा हासिल भएको बताए ।
आयोगले कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरेको थियो ।
समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षो बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेश गरे नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो ।
यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्या, बालबालिकाको संख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।










