तनहुँको व्यास-५ को हत्या काण्ड : घरायसी कुरामा विवाद हुँदा श्रीमतीको हत्या

तनहुँको व्यास नगरपालिका-५ सेरा चापटारमा शनिबार भएको घटनाको प्रारम्भिक अनुसन्धानको विवरण तनहुँ प्रहरीले आइतबार र्सार्वजनिक गरेको छ ।
धारिलो हतियार दाउले प्रहार गरी श्रीमतीको हत्या गरेका ३५ वर्षीय जित बहादुर कुमाललाई प्रहरीले सार्वजनिक गरेको छ ।
गोरखाको पालुङटार-८ दुवार स्थायी घर भई हाल व्यास-५ सेरा चापटारमा बस्दै आएका कुमालले आफ्नी ३६ वर्षीय श्रीमती सुनमाया कुमालको हत्या गरेको प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराए ।

हत्याको आरोपमा पक्राउ परेका कुमालसंगको प्रारम्भिक अनुसन्धनाका क्रममा कुमालले श्रीमतीसंग घरायसी कुरामा विवाद हुँदा घरमा रहेको धारिलो हतियार दाउले पटकपटक प्रहारी गरी शरीरको विभिन्न भागमा गहिरो चोट लागि घटनास्थलमै मृत्यु भएको खुल्न आएको प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए ।
उक्त घटना पश्चात भाग्ने प्रयास गरिरहेको अवस्थामा घटनास्थल नजिकैबाट प्रहरी टोलीले कुमाललाई पक्राउ गरेको थियो । कुमाललाई ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।











