भानु नगरपालिकामा खाद्यअधिकार सम्बन्धी अन्तरक्रिया

- भञ्ज्याङ समाचारदाता (भानु)
भानु नगरपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । इन्सेक तनहुँ तथा मानवअधिकार समुह भानुको संयोजनमा वडा नं. ९ मा सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको हो । वडाअध्यक्ष निलन सन्जिवा श्रेष्ठले नगरपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखे पनि त्यसकालागि बजेट भने पर्याप्त छुट्याउन नसकिएको बताए । गत वर्षनगरपालिकाले नै कृषि तथा पशु सम्बन्धी कार्यक्रम छनौट गर्दा सबै वडाका प्राथमिकतामा परेका क्षेत्र नसमेटिएको हुँदा यसै आर्थिक वर्षेखि वडास्तरबाट नै कार्यक्रम छनौट गर्न प्रत्येक वडालाई १५ लाख रुपैयाँ विनियोजन गरेको भएपनि प्राकृतिक विपत्तिमा परेकालाई राहत दिन उक्त रकमबाट ५ लाख रुपैयाँ काटिएको वडा अध्यक्ष श्रेष्ठले बताए । बाँकी रहेको १० लाख रुपैयाँ कृषकहरुमाझ लैजाँदा केही उपलब्धी नदेखिएको उनको भनाई थियो ।
कार्यक्रममा जैविक विविधता संरक्षण समितिका अध्यक्ष विकलराज अधिकारीले रैथाने बालीको संरक्षण गरी जैविक विविधताको संरक्षण गरिनु पर्ने र त्यसकोलागि नगरपालिकाले नीति नै बनाउनु पर्ने बताए ।
नगरपालिकाका कृषि शाखा प्रमुख प्रताप पाण्डेले भानु नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरुलाई पनि अनुदानका विभिन्न कार्यक्रम सन्चालन गरिएको बताए । वेमौसमी तरकारी खेती मार्फत कृषकहरुलाई व्यसायीकरण गर्ने, बाख्रा पालन, भैसी पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रम, हाते ट्रयाक्टरमा ५० प्रतिशत अनुदान, घाँस खेतीमा सत प्रतिशत अनुदान, भैसी पालनमा कृषकलाई आकर्षित गर्न सुत्केरी भैसीलाई भत्ता लगायतका कार्यक्रमहरु सन्चालन गरिएको बताए ।
मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य प्रेमबहादुर पाण्डे, कृषक राजन थपलीया, मनबहादुर अधिकारी, मानवअधिकार समुहका सदस्यहरु सीता अधिकारी, रुक्मिणी खनाल इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










