धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई आँवुखैरेनीको प्राथमिकता
भञ्ज्याङन्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिकाले धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा गरी चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण गरेको हो ।
कृषिबाली संरक्षण कार्यक्रम अन्तर्गत धानबालीमा लाग्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । उनले भने, “धानबालीमा विभिन्न रोगको प्रकोप आउँछ, फड्के किराको प्रकोप, गवारोको प्रकोप, पतेरोको प्रकोपलगायतका समस्या आउँछन्, त्यस्तो प्रकोप नियन्त्रणका लागि पालिकाले योजना बनाएर काम गरिरहेको छ ।”
गाउँपालिकाका छ वडामा चार सय रोपनी क्षेत्रफलमा त्यस्ता रोगको प्रकोप नियन्त्रण गरिएको केसीले जानकारी दिए । उनका अनुसार कृषि बाली संरक्षण कार्यक्रम अन्तर्गत नै ४० रोपनी क्षेत्रफलमा गरिएको तरकारी बालीको रोग नियन्त्रण गरिएको छ । उनले भने, “यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले प्राविधिक सहयोग, विषादी र स्प्रे पम्प, व्यक्तिगत सुरक्षा सामग्री निःशुल्क प्रदान गरेको छ ।” आगामी दिनमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि पनि गाउँपालिकाले कार्ययोजना बनाएको छ ।
“कृषकले खेती गरेको बालीमा बाँदर, बँदेल, मृगलगायतले क्षति पुर्याउँदा कृषकलाई नोक्सानी भइरहेको छ । यसका लागि के गर्न सकिन्छ त्यसतर्फ अगाडि बढेका छौँ”, उनले भने, “सुन्तला र तरकारीखेती गर्ने कृषकको माग तथा आवश्यकताअनुसार असिना छेक्ने जालीको व्यवस्था गरिदै छ । सुन्तला र तरकारी बढी उत्पादन हुने क्षेत्रका कृषकलाई असिनाबाट बाली बचाउन जाली निःशुल्क वितरण गर्छौं, त्यसका लागि कृषकबाट आवेदन माग गरिनेछ ।”
यसैगरी कृषि शाखाले कृषकलाई मकैको बीउसमेत वितरण गरेको छ । गत आर्थिक वर्षमा परेको लामो खडेरीका कारण कृषकबाट मकैको बीउ संरक्षण हुन नसकेकाले शाखाले यस वर्ष कृषक समूहलाई भूगोलअनुसारको उन्नत जातको मकैको बीउ सहयोग गरेको केसीले जानकारी दिए। गाउँपालिकाले निःशुल्करुपमा मकैको बीउ उपलब्ध गराएपछि कृषक खुसी भएका छन् ।