भिमादमा दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम

भिमाद : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले तनहुँको भिमादमा स्तनपान गराउने आमाहरूको मातृ–शिशु स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै ‘दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ ।
भिमाद नगरपालिकामा सोमबारआयोजित कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले स्तनपान गराउने आमाहरूमा दूध उत्पादन वृद्धि, आमा तथा शिशुको पोषण सुधार र स्वास्थ्य सुरक्षामा आयुर्वेदिक जडीबुटी तथा औषधिको महत्वबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले ‘मातृ–शिशु स्वास्थ्य सुरक्षार्थ दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले स्तनपान गराउने आमाहरूका लागि उपयोगी आयुर्वेदिक जडीबुटी, दुग्धवर्धक औषधि तथा स्वस्थ जीवनशैलीका विषयमा सहजिकरण समेत गरेका थिए ।
उनले मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा आयुर्वेदिक उपचार पद्धति, पोषणयुक्त आहार तथा प्राकृतिक जीवनशैलीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। कार्यक्रममा स्तनपानको महत्व, सन्तुलित आहार तथा आयुर्वेदिक औषधिको सही प्रयोगबारे समेत जानकारी गराइएको थियो ।
कविराज निरीक्षक सोमकान्त पौडेलले सहजिकरण गरेको कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई आयुर्वेदिक जीवनशैली, प्राकृतिक उपचार पद्धति तथा मातृ–शिशु स्वास्थ्य प्रवद्र्धनसम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले दुग्धवर्धक आयुर्वेदिक औषधि तथा जडीबुटीको प्रयोग, पोषणयुक्त आहार र स्तनपानको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेको बताएका थिए । सहभागीहरूले यस्ता जनचेतनामूलक तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
उक्त कार्यक्रममा भिमाद नगरपालिका का स्वास्थ्य शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
æस्वस्थ आमा, स्वस्थ शिशु, समृद्ध परिवारÆ भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण प्रवर्द्धन तथा आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।










