५८ करोड ५६ लाख बजेट सहित भिमादको नीति तथा कार्यक्रम सार्वजनिक
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सहितको नीति तथा कार्यक्रम र्सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभाले चालु वर्षका लागि ५८ करोड ५६ लाख ८ हजार रुपैयाँ बजेट सहित नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको हो । नगर उपप्रमुख शारदा खनालले चालुतर्फ ३७ करोड ४ लाख १० हजार ८ सय ७० रुपैयाँ र पुँजीगततर्फ २१ करोड ५१ लाख ९७ हजार १ सय ३० रुपैयाँ विनियोजन गरिएको जानकारी गराइन। चालुमा ६३.३ प्रतिशत र पुँजीगतमा ३६.७ प्रतिशत विनियोजन गरिएको छ ।
सामाजिक विकास शीर्षकमा नगरले आधा बढी बजेट छुट्याइएको छ । ३० करोड १ लाख २० हजार रुपैयाँ सामाजिक विकासका लागि विनियोजन भएको छ । ठुलो रकम पुर्वाधार विकास शिर्षकमा १६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको सार्वजनिकिकरण समरोहमा बजेट प्रस्तुत गर्दै उपप्रमुख खनालले जानकारी गराइन् ।
कार्यक्रम सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड २० लाख रुपैयाँ र आर्थिक बिकासतर्फ ३ करोड ४५ लाख ७७ हजार १ सय ३० रुपैयाँ विनियोजन गरेको नगरपालिकाले संघीय सरकारबाट समानिकरण अनुदानमा ११ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने उपप्रमुख खनालले जानकारी गराइन् ।
यस्तै, सशर्त चालु अनुदान २४ करोड २४ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदान २ करोड २९ लाख रुपैयाँ, विशेष अनुदान ४२ लाख रुपैयाँ र संघिय सरकारबाट राजस्व बाँडफाँडमा ८ करोड ४१ लाख ८७ हजार रुपैयाँ प्राप्त हुने जनाईएको छ । यसरी संघीय सरकारबाट मात्रै ४७ करोड ३२ लाख ८७ हजार रपैयाँ आम्दानीको अनुमान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख ४२ हजार रुपैयाँ, समपुरक अनुदान १ करोड रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ५० लाख ७९ हजार रुपैयाँ प्राप्त हुनेछ । घर जग्गा रजिष्ट्रेशनबाट ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । यस्तै, भिमादले २ करोड ५० लाख रुपैयाँ मात्र आन्तरिक स्रोतबाट आम्दानी हुने प्रक्षेपण गरेको छ । गत आर्थिक बर्षमा खर्च नभएको ४ करोड १४ लाख रुपैयाँ पनि यही आर्थिक बर्षमा उपयोग गर्ने कार्यक्रम बनाइएको छ ।
निती तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अझै पनि संघीयताको प्रारम्भिक अवस्थामा रहेको बताए । स्थानीय तहमा कर्मचारी फेरबदल भईरहदा विकासले स्थायित्व प्राप्त गर्न नसकेको उनको भनाई थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले भने, ‘स्थिर प्रशासनीक संयन्त्र नभएसम्म बजेट खर्च हुन नसक्ने समस्या रहन्छ ।’
कार्यक्रममा संविधान सभा सदस्य टुकराज सिग्देलले संघीयता ७० बर्षे संर्घष्ाले पाएको प्रतिफल भएको उल्लेख गरे । उनले भने, ‘हजुरबुवा पुस्ताले लडेको लर्डाईको प्रतिफल नाती पुस्ताले पाएको छ। यसैलाई जोगाउन जनताले अनुभुती गर्नेगरी विकास गर्न आवश्यक छ ।’ जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्राकृतिक स्रोत दोहनको बिषयमा भिमादमा प्रश्न उठ्ने गरेकाले ध्यान दिन सुझाव दिए । नगरप्रमुख मेखबहादुर थापाले नगरपालिकाले कोरोना कहरले थलपरेको जनजीवनलाई लक्षित गरी नीति, कार्यक्रम र बजेट ल्याइएको बताउँदै भने, ‘रोजगारीको वातावरण सृजना गर्ने, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।’










