पृथ्वीराजमार्गको तनहुँ खण्डमा पहिरो हटाउँदै सवारी साधान सञ्चालन, ग्रामीण सडक पूर्णरुपमा बन्द
भञ्ज्याङ न्यूज

गत मंगलबार साँझदेखि परेको अविरल वर्षासँगै पृथ्वीराजमार्गको तनहुँ खण्डमा ठाउँठाउँमा पहिरो खसेको छ । खसेको पहिरो हटाउँदै राजमार्ग सञ्चालन समेत गरिदै आइएको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुले ठूलो सास्ती झेल्नुपरेको छ ।
अविरल वर्षासंगै शुक्रबार बिहान पृथ्वीराजमार्गको दुइ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको तनहुँ प्रहरीले जनाएको छ । व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो पन्छाएर दुइतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले बताए ।
त्यस्तै म्याग्दे गाउँपालिका-१ गुणादीमा पहिरोका कारण एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो भने दुइतर्फी बनाउन पहिरा पन्छाउने कार्य भइरहेको छ ।
राजमार्ग सञ्चालनमा आएपछि रोकिएका र्सवसाधारण गन्तव्यतर्फलागेका छन् । निरन्तर वर्षा भइरहेकाले अझै पहिराको थप जोखिम रहेको देखिन्छ । पहिरो जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिरो पन्छाउने टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै, तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो ।
वर्षाका कारण तनहुँका ग्रामीण सडक पूर्णरुपमा बन्द हुन पुगेका छन् । दशैं पर्व मनाउन गाउँ पुगेकाहरु गाउँमै थुनिएका छन् । गाउँबाट अन्यत्रा जानुपर्ने मानिसहरु पनि सडक अवरुद्ध हुँदा जान सकेका छैनन् । वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा दशैंको टीका लगाउन जानेहरू मर्कामा परेका छन् ।
गत मंगलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादशैंको रौनकता बढाउन सकेन । चार्डपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शिबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास-१० निवासी तुलबहादुर सुनारले बताए ।
अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उनको दुखेसो छ । जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताए ।
कोरोनाका कारण तीन बर्ष खुलेआम चार्डपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दसैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो । वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान पनि र्सवसाधारण रोकिएका छन् ।
यस्तै, वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ । पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्दछ ।

अविरल वर्षाका कारण छिनछिनमा पहिरा खस्ने क्रम नरोकिएपछि कठिनाइ भोग्नुपरेको तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले बताए । पहिरो पन्छाएर गाडी सञ्चालन गरेर कार्यालय आइ नपुग्दै पुनः पहिरो खसेको जानकारी आएपछि दगुर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
शुक्रबार बिहान जिल्लाको म्याग्दे-१ गुणादी र व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरुद्व भएपछि पहिरा पन्छाएर सवारी साधान सञ्चालन गरे लगत्तै पुनः राजमार्ग रोकिएको थियो । राजमार्ग अन्तर्गत व्यास-४ स्थित मादीनदी पुल नजिक पहिरो खस्दा अवरोध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
छ घर जोखिममा
अविरल वषर्ाका कारण विभिन्न स्थानका छवटा घर जोखिममा परेका छन् । व्यास नगरपालिका-१ निर्मलबस्ती नजिक छाब्दीखोला नजिक पहिरा जाँदा तीन घर जोखिममा परेका छन् । पहिराका कारण छाब्दी लिफ्ट खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले बताए। पहिराको कारण उक्त घरका मानिस सुरक्षाका लागि छिमेकीकोमा शरण लिनुपर्ने अवस्था छ।
त्यसैगरी व्यास नगरपालिका-३ देउराली नगरमा एक घरमा पहिराले क्षति बनाउनुका साथै व्यास-५ मानुङ्गमा दुइ घरमा क्षति पुर्याएको छ । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने श्रृङ्ग सडक मार्गमा पहिरो जाँदा पूर्णरुपमा अवरुद्ध भएको छ ।
जिल्लाको घिरिङ गाउँपालिका-५ देउरालीमा पहिरो गएका कारण सवारी आवागमन रोकिएको घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अञ्जान परियारले जानकारी दिए । सडक विस्तार नगरेसम्म ठूला कुनै पनि सवारी साधन चल्न नसक्ने अवस्था देखिएको उनले बताए ।

खानेपानीको समस्या
तीन दिनदेखि अविरलरुपमा परेको वर्षाका कारण खानेपानीको समस्या पनि सर्वसाधारणले उत्तिकै भोग्नुपरेको छ । व्यास नगरपालिका-१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिराले बगाएपछि खानेपानीको समस्या भएको हो ।
खानेपानीको पाइप पहिराले बगाएपछि धारामा पानी नआउँदा कहाँको पानी खाने भन्ने चिन्ता वडाबासीलाई रहेको छ । तीन दिनदेखि धारमा पानी नआएको स्थानीयले बताएका छन् । वडामा रहेका करिब तीन हजार उपभोक्ताले उक्त खानेपानी समितिले वितरण गर्दै आएको पानी उपभोग गर्दै आएका थिए ।










