आदिकविमा लेखापढी सिप विकास विषयको शुभारम्भ

तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा लेखापढी सिपविकास विषयको शुभारम्भ गरिएको छ । बजारको माग सुहाउँदो विषय निर्माण गरी पूरक पाठ्यक्रम शिक्षण गर्ने सन्दर्भमा क्याम्पसले नेपाली शिक्षा विषय लिएका विद्यार्थीहरूलाई लेखापढी सिप विकास विषयलाई अतिरिक्त विषयका रूपमा प्रस्तुत गरेको छ।
तनहुँ जिल्लाका जिल्ला न्यायाधीस कमलराज विष्टले उक्त कार्यक्रमको शुभारम्भ गर्दै संघीयताको कार्यान्वयनको सन्दर्भमा अब झनै गाउँपालिका र नगरपालिकामा लेखापढी गर्ने जनशक्तिको खाँचो पर्ने हुँदा क्याम्पसले लेखापढी सिप विकास विषयलाई शिक्षण गर्नु समयसापेक्षिक हुने बताए ।
वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले लेखापढी सिप विकास कार्यक्रमले विद्यार्थीहरूलाई कानुनी ज्ञान दिने र व्यावसायिक रूपमा स्वावलम्बी बनाउने अवसर प्राप्त हुने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले विद्यार्थीहरूको प्रतिभालाई अझ विकसित गर्न लेखापढी सिप विकास कार्यक्रमले अझ प्रभावकारी भूमिका खेल्ने बताए ।
जिल्ला बार एशोसियसनका अध्यक्ष डम्बरदेव हड्खले, लेखापढी संघका जिल्ला अध्यक्ष सूर्य पौडलले लेखापढी सिप विकास विषयको अध्यापन गर्दा क्याम्पसलाई विभिन्न पक्षमा सहयोग उपलब्ध गरिने जानकारी गराए ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जलवायु परिवर्तन विषयमा २५ जना विद्यार्थीले अतिरिक्त विषयको अध्ययन गरिरहेको र अब नेपाली विषयमा समेत विद्यार्थीहरूका लागि सस्तो सुलभ शुल्कमा अतिरिक्त विषयको पढाइ गर्ने तयारी भइरहेको बताए।
क्याम्पसका नेपाली विभागका प्रमुख डा. सुशीलप्रसाद वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी लगायतका वक्ताहरुले लेखापढी सिप विकास कार्यक्रम महत्व र यसबाट प्राप्त हुने कानुनी ज्ञानले जीवनमा आत्मविश्वासपूर्वक अगाडि बढ्न र आत्मअनुशासन राख्न मद्दत पुग्ने बताए ।










