यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुने अनुमान

दमौली : यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको आपत्कालीन प्रतिकार्य योजना २०८१ अनुसार यस वर्षको मनसुनबाट जिल्लामा सात हजार मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको हो ।
गण्डकी प्रदेशमा यस वर्ष १५ हजार नौ सय ६९ घरका ७० हजार प्रभावित हुने आकलन गरिएको बताउँदै तनहुँलाई यस वर्ष पहिराको उच्च जोखिमका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले जानकारी दिनुभयो । “विभिन्न तथ्याङ्कका आधारमा वैज्ञानिक विधिबाट विश्लेषण गरी निश्चित अवधिमा विपद्बाट प्रभावित हुनसक्ने जनसङ्ख्याको पूर्वानुमान गरिएको छ । जिल्लामा अरु विपद्भन्दा पहिराबाट बढी जोखिम देखिन्छ”, उहाँले भन्नुभयो ।
प्रजिअ गौतमका अनुसार सन् २०१० देखि २०२० सम्म गृहमन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कका आधारमा यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने जनसङ्ख्या करिब १२ लाख ५० हजार रहेको छ । उहाँले भन्नुभयो, “यस वर्षको मनसुन जेठ अन्तिम सातादेखि सुरु भई असोजको दोस्रो सातासम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विपद्को क्षति न्यूनीकरणका लागि हामी आजदेखि तयारी अवस्थामा जुटेका छौँ ।”
जिल्लाका चार नगरपालिका र छ गाउँपालिका पहिराको उच्च जोखिममा छन् । पहिरापछि बाढी, आगलागी, महामारी, सुक्खा खडेरी, सडक दुर्घटना र चट्याङ तथा हुरीको जोखिम रहेको प्रजिअ गौतमको भनाइ छ । प्रतिकार्य योजनामा उल्लेख भएअनुसार जिल्लाका १० पालिकाका ८५ वडामध्ये ४८ वडा पहिराका जोखिममा रहेका उहाँले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापन समितिले जुनसुकै बेला विपद् आइपर्छ भन्ने तथ्यलाई ध्यानमा राखी विपद् आउनुपूर्व नै आवश्यक स्रोतसाधनको व्यवस्थासहित तयारी अवस्थामा बसेको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । उहाँका अनुसार प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा जिल्ला विपद् सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ ।
समितिमा कालीभञ्जन गण (इ) का सेनानी कुसुम पहाडी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार राय, सशस्त्र प्रहरी बल नेपाल नं २३ गण मनकामना भानुका प्रहरी नायब उपरीक्षक प्रकाश पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत रेमण्ड पोख्रेल, नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खले, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ललगायत सदस्य रहनुभएको छ ।
प्रतिकार्य योजनामा सबै निकायको जिम्मेवारी तोकिएकाले विपद्को बेला सबै निकाय सक्रिय भएर खट्ने प्रजिअ गौतमको भनाइ छ । उहाँले भन्नुभयो, “हरेक वर्ष प्रस्तुत योजनालाई समयानुकूल अद्यावधिक गर्दै लैजानुपर्ने हुँदा साबिक मनसुन, शीतलहर, आगलागी, चट्याङ, महामारी, आँधीलगायत लागि प्रतिकार्य आपत्कालीन कार्य योजना २०८१ तर्जुमा गरिएको छ ।”
प्रजिअ गौतमका अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि जोखिमका क्षेत्र र जनशक्तिको क्षमता विश्लेषणका आधारमा आठवटा विषयगत क्षेत्र निर्धारण गरिएको छ । यस योजनाअन्तर्गत जोखिमका समयमा खटिने सहयोगी संस्था र प्रतिनिधिको भूमिका तथा जिम्मेवारी स्पष्ट रुपमा पहिचान गरेको उहाँले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker