तनहुँमा विभिन्न घटनामा तीन जनाको मृत्यु

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भिरबाट लडेर एक जनाको, पर्खालले च्यापिएर एकजना र मर्स्याङ्दीको ड्याममा एक जनाको शव भेटिएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका-७ बाजगारा बस्ने ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । दमौलीबाट घर फर्कदै गरेका थापाको शनिबार १०:३० बजेको समयमा घर नजिकै रहेको चण्डि भयर सामुदायिक वनको गोरेटो बाटोदेखि अन्दाजी एक सय मिटर तल भिरमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थापाको शव भद्रलेको रुखमा अडि्कएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी आएपश्चात् प्रहरीले निजको शव निकालेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । दमौली आएर आँखा सम्बन्धी उपचार गरेर घर फर्किदै गर्दा थापा भिरबाट खसेको बताइएको छ ।

रुखमा अडि्कएको अवस्थामा शव देखेपछि स्थानीयवासीले ऋषिङ रानीपोखरी प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकको नेतृत्वमा गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको विपद् उद्धारको संयुक्त टोलीले साढे तीन घण्टाको प्रयासपश्चात् निजको शव निकालेको प्रहरीले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

यस्तै, व्यास नगरपालिका-४ बाघबजार स्थित दमौली पार्टी प्यालेसको पर्खाल भत्काउदै गरेको अवस्थामा च्यापिएर एक जनाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । पार्टी प्यालेसको पर्खाल भत्काउँदै गर्दा देवघाट गाउँपालिका वडा नं. ३ छिपछिपे स्थायी घर भएका अन्दाजी ३२ वर्षका भिम बहादुर गुरुङलाई सोही पर्खालले च्यापिएर टाउको समेतको भागमा चोट लागि गम्भिर घाइते भएका थिए । उनको दमौली अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

यस्तै, आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा सोमबार एक युवकको शव फेला परेको छ । मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका-६ स्थायी घर भई हाल गोरखा नगरपालिका-१४ याद्रोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै सनाखत हुन नसके पनि पछि आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker