गण्डकीमा अपाङ्गता सम्बन्धी विधेयक पारित

पोखरा : गण्डकी प्रदेशसभाले “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ। गत चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको विधेयक मंगलबार प्रदेशसभामा दफावार छलफल भई पारित भएको हो ।

विधेयक प्रस्तुत गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले समितिमा व्यापक छलफलपछि विधेयक ल्याइएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुको समन्वय, सहजीकरण, अनुगमन तथा अधिकार संरक्षणका लागि निर्देशन समिति गठन भइसकेको जानकारी दिए ।

उनका अनुसार विधेयकले अन्तरवर्गीयता, अपाङ्गताको विविधता, १० प्रकारका अपाङ्गताको परिभाषा, सवारीचालक अनुमतिपत्र पाउने व्यवस्था, दिवा सेवा केन्द्र सञ्चालन, सांकेतिक भाषाको विकास तथा अनुसन्धान, आवासीय शिक्षा, जोखिम अवस्थामा प्राथमिकता लगायतका विषय सुनिश्चित गर्नेछ। मन्त्री थापाले भने, “अपाङ्गता भएका व्यक्तिमाथि हुने विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै उनीहरूको अधिकार, सम्मान र सशक्तिकरण सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। यसले उनीहरूको समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तअनुरूप नीति निर्माणमा प्रभावकारी सहभागिता सुनिश्चित गर्नेछ ।”

प्रदेशसभाका विभिन्न सांसदहरूले विधेयकलाई ऐतिहासिक, सकारात्मक र व्यवहारिक कदमका रूपमा स्वागत गरे। सांसद डिल्लीराम सुवेदीले शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँच सुनिश्चित गर्न कार्यान्वयनमा जोड दिए। सांसद भक्तबहादुर कुँवरले अपाङ्गता कुनै जन्मजात मात्र नभई जीवनमा कहिले पनि आउन सक्ने अवस्था भएकाले विधेयक सबैका लागि महत्त्वपूर्ण रहेको बताए ।

त्यस्तै सांसद सुसिला सिंखडाले प्रतिपक्षमै रहे पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र राजनीतिक सहभागितामा अपाङ्गता भएका व्यक्तिलाई जोड दिइएको पक्ष सबल रहेको उल्लेख गरिन्। सांसद पञ्चराम गुरुङले अपाङ्गता सम्बन्धी ऐन संविधान प्रदत्त मौलिक अधिकारसँग जोडिएको बताउँदै अपाङ्गता भएका बालबालिकाको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

सांसद सुनिता थापाले आफू पनि अपाङ्गता समुदायको प्रतिनिधि भएको उल्लेख गर्दै, “यो विधेयक अपाङ्गता भएका समुदायको मात्रै नभई सबैको हो । गण्डकीको यो कदम अन्तर्राष्ट्रिय जगतका लागि उदाहरण बन्न सक्छ”, भनिन् ।

यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले विधेयक पारित हुनु ऐतिहासिक दिन भएको टिप्पणी गरे। “हामीले चाहेजस्तो पूरै नआए पनि धेरै महत्वपूर्ण विषय समेटिएको छ। नियमावली बनेर तत्काल कार्यान्वयन सुरु हुन्छ भन्ने विश्वास छ,” उनले भने। उनले अपाङ्गता सम्बन्धी नीति र ऐन ल्याउन गण्डकी पहिलो प्रदेश बनेको उल्लेख गर्दै ऐन कार्यान्वयनमा पनि गण्डकी उत्कृष्ट बन्ने अपेक्षा व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker