जनता नै न्यायधीस हुन् : एमाले उम्मेदवार महत
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा (एमाले) को तर्फबाट तनहुँ क्षेत्र नं. २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले जनता न्यायधीस भएको बताउँदै मंसिर ४ मा सहि मुल्याङ्कन हुने बताएका छन् । समृद्ध नेपालको चाहाना पुरा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उनले जनताले नै न्यायधीश भएर निर्वाचनमा एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिकाको वडा नं. २, ४, ५ र ७ का मतदाता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै महतले गठबन्धनका कारण विकास निर्माण कार्य ठप्प भएको बताए । उनले वर्तमान सरकारले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएको बताए । पार्टीका प्रदेश सदस्य समेत रहेका उनले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे ।
पृथ्वी सुब्बा नेतृत्वको गण्डकी सरकार हुँदा परिपक्क नेतृत्व भएको बताउँदै गठबन्धन सरकारपछि प्रदेश सरकारप्रति जनताको निराशा बढेको उल्लेख गरे । उनले एमालेको नेतृत्वपछि पुनः जनतालाई आशा जगाउने विश्वास दिलाए । उम्मेदवार महतले मंगलवार नर्सरी, साँखर, भित्रिबजार, मुस्लीमटोल, टुँडा लगायतका क्षेत्रमा पुगेर मतदाताका गुनासो सुन्नुका साथै आफ्ना योजना प्रस्तुत गरेका थिए ।
यस्तै, नेकपा -एमाले) व्यास-५ वडा कमिटीले घरदैलो कार्यक्रम शुरु गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरी कमिटीले चिन्तुटारमा घरदैलो कार्यक्रम शुरु गरेको हो । नेकपा एमाले तनहुँले क्षेत्र नं. २ मा पुर्व वनमन्त्री तथा पुर्व गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलाई चुनावी मैदानमा उतारेको छ भने प्रदेश (१) मा श्यामराजा महतलाई उतारेको छ । घरदैलो कार्यक्रममा जनतालाई सु-सुचित गराउने, मतदान गर्न सिकाउने र धेरै भन्दा धेरै पार्टीका पक्षमा मत खसाल्ने अभियानमा लागिएका कमिटीका उपसचिव यम वहादुर विकले बताए ।










