महिलालाई फूलखेतीमा आकर्षित गर्न तनहुँको आँबुखैरेनीमा पहिलो पटक सयपत्री फूलखेती

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो ।

घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । वडा नं१स्थित यान्चोक आमा समूहमार्फत् १२ रोपनी र आँधीमूल आमा समूहमार्फत् सात रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गरिएको छ ।

त्यसका लागि फूलको बिरुवा सहयोगस्वरुप उपलब्ध गराइएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुवै ठाउँमा बिरुवा रोपेको २० दिन भयो, ९० दिनमा फूल फूलेर एक सय २० दिनमा बिक्रीका लागि तयार हुन्छ ।” आगामी तिहारलाई लक्ष्य गरी फूलखेती सुरु गरिएको उहाँको भनाइ थियो । यस वर्ष केही ढिला भए पनि छिटो फूल्ने मल प्रयोग गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सटृासयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उहाँले भन्नुभयो, “फूल फुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ । आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पु¥याउँछ ।”

यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्था अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आमा समूहमा आबद्ध महिला अहिले गोडमेल र रेखदेखमा लागिरहेका छन् । फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरेका छौँ ।”

आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले पनि घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आवद्ध गराई फूलखेती सुरु गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलका बिरुवा वितरण गरेको थियो ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको थियो । त्यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छाँै ।”

गाउँपालिकाले वडा नं १ को आँधीमूल आमा समूहलाई आठ हजार चार सय र यान्चोक आमा समूहलाई १२ हजार सयपत्री फूलको बिरुवा वितरण गरेको थियो । गाउँपालिकामा पुष्पखेती नहुँदा हरेक वर्ष बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाभित्रै फूल उत्पादन हुन सके त्यो अवस्था रोकिने अध्यक्ष चुमानको भनाइ थियो।

उहाँले भन्नुभयो, “फूलखेतीबाट महिलाले आम्दानी पनि गर्न सक्ने र यसले गाउँपालिकालाई पनि फूलमा आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker