म्याग्दे गाउँपालिका : “गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने अभियानमा छौ”

म्याग्दे गाउँपालिका शिक्षा क्षेत्रमा आमूल सुधारका कार्यक्रमहरूसहित गुणस्तरीय शिक्षाको दिशामा दृढतापूर्वक अघि बढिरहेको छ । गाउँपालिकाले शिक्षाको पहुँच, गुणस्तर, पूर्वाधार र समावेशितालाई केन्द्रमा राखेर विभिन्न नविनतम कार्यक्रमहरू कार्यान्वयन प्रक्रियामा अगाडि बढाएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, यसैसँगै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै खाजामा प्रयोग हुने परिकारहरू स्थानीय स्रोतबाट जुटाइने व्यवस्था गरिएको छ । छात्राहरुलाई गुणस्तरीय सेनिटरी प्याड वितरण, तथा सेनिटरी प्याड भेन्डिङ मेसिन खरिदको पहलमार्फत महिला स्वास्थ्यमा समेत गाउँपालिकाले विशेष ध्यान दिएको अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै, प्रविधिमैत्री विद्यालय बनाउने योजनाका लागि अगाडि बढेको गाउँपालिकाले “एक पालिका, एक स्मार्ट विद्यालय” भन्ने संघीय अवधारणालाई मूर्तरूप दिँदै कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयको रूपमा विकास गर्ने कार्य अगाडि बढाइएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘प्रत्येक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माण र प्रविधि हस्तान्तरणमा जोड दिइएको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान समेत थालिएको छ ।’
गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ भने कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यक्रम निर्माण कार्य जारी छ । स्थानीय सन्दर्भ र आवश्यकतालाई सम्बोधन गर्ने गरी पाठ्यपुस्तक प्रकाशनको प्रक्रिया अघि बढाइएको छ । शिक्षकहरूको विषयगत दक्षता अभिवृद्धिका लागि विज्ञान, गणित, अंग्रेजी तथा सूचना प्रविधि विषयमा तालिम प्रदाका साथै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, र प्रधानाध्यापकहरूको नियमित अन्तरक्रियात्मक बैठकमार्फत विद्यालय प्रशासनलाई चुस्त र दुरुस्त बनाउने योजना अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगायतका खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूलाई नियमित रूपमा सञ्चालन गर्दै आएको गाउँपालिकाले विद्यालयमा प्रशिक्षित प्रशिक्षक उपलब्ध गराउने, खेलकुद सामग्री व्यवस्थापन गर्ने र खेल मैदान निर्माण गर्ने कार्यालाई पनि प्राथमिकताका साथ अगाडि बढाएको अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै, शैक्षिक सुधारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विद्यालयहरूमा नियमित अनुगमन, निरीक्षण र सुपरीवेक्षणलाई व्यवस्थित गर्ने गरिएको छ । सम्पूर्ण परीक्षामा एकरूपता कायम गर्न एकाइ परीक्षा प्रणाली लागू गर्नुका साथै, विद्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास सुरु गरिएको छ ।
‘लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरणमार्फत शिक्षामा पहुँच वृद्धि, न्यून दरबन्दी भएका विद्यालयहरूलाई शिक्षण सहयोग अनुदान, प्रारम्भिक बालविकास केन्द्रहरूलाई सशक्त बनाउन कर्मचारी र सहयोगीलाई दिइने अनुदानलाई निरन्तरताका कार्यक्रम समेत अगाडि बढाइएको छ’, उनले भने, ‘शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप रोक्न गाउँपालिकाले ठोस कदम चालेको छ । सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको सदस्य बन्न नपाउने कानुनी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन तर्फ अगाडि बढिएको छ ।’
संघीय सरकारको नीति अनुसार विद्यालय बस खरिदमा भन्सार छुटको व्यवस्था अनुसार साझेदारी सहयोग गर्दै प्रदेश सरकारसँगको सहकार्यमा सामुदायिक विद्यालयहरूमा शौचालय, खानेपानी ट्यांकी, नक्सांकन लगायतका पूर्वाधार विकास र सार्वजनिक पुस्तकालय स्थापना गर्ने योजना समेत गाउँपालिकाले अगाडि बढाएको छ ।
अध्यक्ष श्रेष्ठले भने, ‘वर्तमानमा गुणस्तरीय शिक्षाः पालिकाबासी सबैको अपेक्षा’ भन्ने नारालाई आत्मसात गर्दै हामीले शैक्षिक क्षेत्रको समग्र रूपान्तरणमा हात हालेका छौं । यो सुधार प्रक्रिया तत्कालीन आवश्यकताका आधारमा मात्र होइन, दीर्घकालीन सोच र योजनाका साथ अघि बढाइएको छ । सामुदायिक विद्यालयहरूको संरक्षण, संवद्र्धन र गुणस्तरीय शिक्षामा म्याग्दे गाउँपालिका अब उदाहरणीय बन्नेमा हामी विश्वस्त छौं ।”
म्याग्दे गाउँपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्दै जुन प्रकारका बहुआयामिक सुधार योजनाहरू अघि बढाएको छ, त्यसले सम्पूर्ण जिल्लालाई नै प्रेरणा दिने सम्भावना बोकेको र यसले न केवल विद्यार्थीहरूको भविष्य उज्यालो बनाउनेछ, बरु गाउँपालिका स्तरमै शिक्षा प्रणालीको सुदृढिकरणमार्फत देशकै शैक्षिक रुपान्तरणमा टेवा पु¥याउने अपेक्षा गाउँपालिकाको रहेको छ ।

शिक्षण संस्थाहरुको सवलिकरण तथा संरचनागत सुधार प्राथमिकतामा : शिक्षा अधिकृत विष्णु खत्री
म्याग्दे गाउँपालिकामा १४ वटा प्राथमिक तह, ४ वटा आधारभुत तह, ९ वटा माध्यमिक तहका विद्यालय सञ्चालनमा रहेका र यी विद्यालयमा ४ हजार १३४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । यस्तै, प्राविधिक धारतर्फको भेटेरिनरी साइन्स एक विद्यालयमा पठनपाठन हुने गरेको गाउँपालिकाका शिक्षा अधिकृत विष्णु खत्रीले जानकारी गराए ।शैक्षिक गुणस्तर सुधारका योजनाहरुः
१) पूर्वप्राथमिक शिक्षा उमेर समुहका सबै बालबालिकालाई प्रारम्भिक वाल शिक्षा तथा विकास कार्यक्रम मार्फत आधारभुत शिक्षाका लागि तयार पार्नु ।
२) ५–१२ वर्ष उमेर समुहका सबै बालबालिकाका लागि गुणस्तरीय आधारभुत शिक्षामा समतामुलक पहुँच सुनिश्चित गर्नु ।
३) माध्यमिक शिक्षामा पहुँच, समता, समानता, गुणस्तर तथा सान्दर्भिकतामा सुधार ल्याउनु
४) प्राविधिक शिक्षा तथा व्यवसायिक सीप विकासमा समतामुलक पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्नु ।
५) विद्यार्थीको सिकाइ प्रक्रियामा प्रभावकारी रुपमा सघाउ पुर्याउन सबै शिक्षकहरुलाई पेसागत सहयोग उपलब्ध गराई दक्षता अभिवृद्धि गर्नु ।
६) यस गाउँपालिका भित्रका सबै विद्यालयहरुलाई सूचना प्रविधिको न्युनतम पहुँच सुनिश्चित गरी शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगमा अभिवृद्धि गर्नु ।
७) सबै विद्यालयहरुमा विपद् र संकटपूर्ण परिस्थितिमा पनि बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्नु ।
८) स्थानीय पाठ्यक्रम र पाठ्य सामाग्री निर्माण तथा कार्यान्वयन गर्ने ।
९) सिकाई समस्याको समाधान उन्मुख, निरन्तर, आवधिक तथा स्तरिकृत मुल्याङ्कन पद्धतीको कार्यान्वयन गर्ने
१०) अनौपचारिक शिक्षा, अभिभावक शिक्षा, निरन्तर सिकाईका कार्यक्रमहरु सञ्चालन गर्ने ।

शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले लिएका लक्ष्यहरुः
१) प्रारम्भिक वालविकास कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अङ्ग बनाई सो उमेर समुहका सबै बालबालिकाका लागि अनिवार्य गर्ने ।
२) उपयुक्त पूर्वाधारसहितको बालमैत्री वातावरण सुनिश्चित गरी प्रारम्भिक बालविकासको अवसर विस्तार गर्ने ।
३) अनिवार्य, निःशुल्क र गुणस्तरीय आधारभुत शिक्षामा सवैको पहुँच सुनिश्चित गर्ने ।
४) अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षाका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने ।
४) निःशुल्क माध्यमिक शिक्षामा सवैको पहुँच सुनिश्चित गर्ने ।
५) प्राविधिक तथा व्यवसायिक सीप विकासमा समतामुलक अवसर र पहुँच सुनिश्चित गर्ने
६) उच्च शिक्षामा समतामुलक पहुँच विस्तार र अवसर सुनिश्चित गर्ने ।
७) सीपमूलक शिक्षा तथा जीवन पर्यन्त सिकाई सुनिश्चित गरिने ।
८) शिक्षण संस्थाहरुको सवलिकरण तथा संरचनागत सुधार गरी सुशासनको प्रत्याभुती दिलाउने
९) प्राविधिक तथा व्यवसायिक शिक्षामा समता मुलक पहुँच अभिवृद्धि गरिने ।
१०) विद्यार्थीको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्थानीय उत्पादनमा आधारित पौष्टिक तथा स्वास्थ्यकर दिवा खाजाको प्रवन्धलाई थप व्यवस्थित गर्ने ।
११ शिक्षा विकास तथा सहायता प्रणालीलाई व्यवस्थित गर्ने ।
१२) विद्यालय शिक्षालाई सूचना तथा प्रविधिको प्रयोग गरी सहज र उपयोगी बनाउने कार्यलाई विस्तार गर्ने ।
१३) आवधिक रुपमा सिकाईको मुल्याङ्कन गरी विद्यार्थीको सिकाईमा शिक्षक जवाफदेही हुने प्रणालीको विकास गर्ने ।
१४) शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा सुधार गर्ने ।
१५) विद्यार्थीहरुलाई उच्च शिक्षामा सहज पहुँच उपलब्ध गराउन उच्च शिक्षा सञ्चालन गर्ने संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्ने
१६) स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा र सीपको अवसर सृजना गर्ने ।
१७) विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षाको उपाय अपनाईने ।
१८) विकास गरिएका पाठ्यक्रम तथा पाठ्यसामाग्रीलाई सम्बन्धित शिक्षक तथा सरोकार वालाहरुलाई प्रवोधीकरण गर्ने ।
१९) विपद् माहामारी तथा संकटको अवस्थामा वैकल्पिक विधिवाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने ।
२०) स्थानीय पाठ्यक्रम र पाठ्य सामाग्रीको विकास तथा प्रयोगलाई व्यवस्थित गर्ने।
२१) शैक्षिक गुणस्तर अभिवृद्धी तथा शिक्षालाई समावेशी बनाउन आधुनिक प्रविधि मैत्री, क्रियाकलाप तथा परियोजनामा आधारित विद्यार्थी केन्द्रित सिकाई क्रियाकलाप सञ्चालन गर्ने ।
शिक्षकहरुको व्यवसायिक विकास र क्षमता अभिवृद्धि कार्यक्रम :
१) कार्यसम्पादनमा आधारित प्रोत्साहन तथा सुविधा दिने ।
२) नवप्रवेशी स्थायी करार शिक्षक समेतलाई छोटो अवधिको सेवा प्रवेश तालिम
३) शिक्षकले कक्षाकोठामा बिताउने समयको अभिलेखीकरण
४) शैक्षणिक योजना निर्माण र कार्यान्वयनका लागि शिक्षकलाई तालिम
५) महिला शिक्षक सुत्केरी विदामा रहँदा अतिरिक्त शिक्षकको व्यवस्था
६) शिक्षकको पेशागत सहयोगका लागि विज्ञहरुको सूचि तयार
७) विषयगत शिक्षकहरुको सूचि निर्माण
८) शिक्षकहरुको सामाजिक संजालमा समुह निर्माण गरी अनुभव आदानप्रदान
९) असल अभ्यास गरेका विद्यालयहरुको अवलोकन भ्रमण
१०) विद्यालय सुपरीवेक्षण र पृष्ठपोषण प्रदान
११) शिक्षक मार्फत कार्यमुलक अनुसन्धान
१२) सहपाठी कक्षा अवलोकन
१३) कक्षा १–५ मा पढाउने शिक्षकको लागि मागमा आधारित छोटो अवधिको पुनर्ताजगी तालिम
१४) प्रध्यानाध्यापकलाई नेतृत्व विकास तालिम
१५) प्रध्यानाध्यापकहरुको लागि विद्यालय सुधार योजना निर्माण सम्बन्धी तालिम
१६) गाउँपालिका र प्रध्यानाध्यापक बिच कार्यसप्पादन करार
१७) प्रध्यानाध्यापक र शिक्षक बिच कार्यसम्पादन करार
१८) स्थानीय विज्ञ समुह मार्फत सुपरीवेक्षण
१९) प्रध्यानाध्यापक मार्फत सुपरीवेक्षण
यस्तै, गाउँपालिकाले विद्यालयको भौतिक संरचना र स्रोत साधान सुधारका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ । शिक्षा अधिकारी खत्रीका अनुसार गाउँपालिकाका विद्यालय भवन निर्माण कार्यक्रम, सुरक्षाका लागि घेरावार कार्यक्रम, सबै माध्यमिक र १–८ सञ्चालित विद्यालयमा पुस्तालय, विज्ञान प्रयोगशाला र विज्ञान प्रविधि प्रयोगशालाको व्यवस्था, पाँचवटा सामुदायिक विद्यालयमा विद्यालय बसको व्यवस्था गरिएको छ ।
शिक्षामा सबैको सहज पहुँच र समानता सुनिश्चित गर्नका लागि गाउँपालिकाले पाँच वटा समुदायिक विद्यालयमा विद्यालय बसको व्यवस्था गर्नुका साथै छात्रवृत्तिको व्यवस्था, दिवा खाजाको व्यवस्था गरेको छ । यस्तै, शिक्षाको गुणस्तर र परिणाममा सुधार ल्याउनका लागि सबै कक्षाको पालिका स्तरीय परीक्षा सञ्चालन, न्युन सिकाई भएका विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्थापन, सिकाईमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग लगायतका कार्यक्रमहरु सञ्चालन गरिएका शिक्षा अधिकृत खत्रीले जानकारी गराए ।
यस्तै, विद्यालय व्यवस्थापन र प्रशासनिक दक्षतामा सुधारका लागि वि.व्य.स अध्यक्ष र शिक्षक अभिभावक संघ अध्यक्षलाई क्षमता विकास तालिम, मासिक प्रध्यानाध्यापक बैठक सञ्चालन, गाउँपालिका र प्रध्यानाध्यापक बिच कार्यसम्पादन करार गर्ने गरिएको छ ।

गाउँपालिकाले शिक्षा शाखा मार्फत विद्यार्थीको सुनाई, बोलाई, पठन र लेखाई सम्बन्धी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। अभिभावक शिक्षा कार्यक्रम संचालन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी सुझावहरु संकलन गर्ने कार्यलाई पनि निरन्तरता दिंदै आएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त कार्यक्रम लगायत स्थानीय तहले आन्तरिक स्रोतबाट शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
चालु आ.व. २०८१/०८२ मा सशर्ततर्फ १३ करोड २० लाख २२ हजार रुपैयाँ र आन्तरिक तर्फ ६२ लाख ५० हजार रुैयाँ विनियोजन भएको छ । यस्तै, पालिकालाई बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्दै आएको र पालिकास्तरीय वाल संजाल गठन भएको छ । विद्यालयलाई धुलो रहित बनाउने कार्यक्रम समेत सञ्चालन गर्दै आएको गाउँपालिकाले विद्यालय नर्स कार्यक्रम संचालन, विद्यालयमा स्यानिटरी प्याड डिस्पोजल मेसिन र भेन्डिङ मेसिन जडान गरेको छ ।
शिक्षा क्षेत्रमा पालिकाले भोगेका समस्याहरु तथा चुनौतीहरु
१) लैङ्गिक, भाषिक, भौगोलिक, आर्थिक, शारीरिक अपाङ्गता, जात÷जाति, आदिको विविधताका कारण सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन,
२) जनसाङ्खिकीय प्रवृत्ति (विशेषतः जन्म र बसाँई सराई), बनौट र बसोबास साथै भौगोलिक विकटता कारण व्यवहारिक विद्यालय नक्साङ्कन तथा समायोजन कार्यले पूर्णता पाउन कठिन,
३) स्थानीय परिवेशका कारण भैरहेको विद्यालय शिक्षक दरवन्दीलाई न्यायोचित वितरण गर्न कठिन,
४) विद्यालयमा थप आर्थिक व्यस्थापन हुन नसक्ने हुँदा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन पूर्णरूपमा गर्न कठिन,
५) विपत्को अवस्थाको व्यवस्थापन र त्यस्ता समयमा वैकल्पिक माध्यमबाट सिकाई अवसर प्रदान गर्न आपतकालीन स्रोतसाधनको कमी, जनसाङ्खियक समूहहरूको विविधताका कारण आजीवन सिकाइको पहिचानमा विविधता र समान अवसर सुनिश्चित गर्न कठिन,
६) सबै विद्यालयमा तोकिए अनुसारको भौतिक पूर्वाधारको निर्माण र हरित विद्यालयको रूपमा विकास गर्न आर्थिक स्रोत संकलनमा चुनौती, जलवायु परिवर्तन र त्यसको असर कम गर्ने उपायहरु अवलम्बन गर्न सिमित जनशक्ति र स्रोतका कारण अपेक्षित उपलब्धि प्राप्त गर्न कठिनाई ।
(भञ्ज्याङ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा वैशाख १ गते भञ्ज्याङ दैनिकले प्रकाशित विशेषाङ्कमा प्रकाशित)










