भानुको बजेट रु ८५ करोड १६ लाख, ‘स्वस्थ गाउँशहर भानुको बहार, जनताको घर दैलोमा स्वास्थ्य उपचार’ अभियान

डिपि अधिकारी/भानु

तनहुँको भानु नगरपालिकाको १४औं नगर सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड १६ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आइतबार बसेको नगर सभाले उक्त बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको हो ।
कुल विनियोजित बजेट मध्ये चालुतर्फ ६४ करोड ११ लाख ९१ हजार रुपैयाँ, पूँजीगत तर्फ २१ करोड ४ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।
नगरपालिकालाई संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १३ करोड ६१ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट रु १३ करोड ७ लाख ९९ हजार २४३, सशर्त अनुदान चालु र पुँजीगत रु ४१ करोड १२ लाख ३५ हजार, संघीय विशेष अनुदान ३ करोड, क्रमागत ठेक्का योजना रु ३ करोड, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ८८ लाख ३८ हजार, प्रदेश राजस्व बाँडफाँड रु १ करोड ३६ लाख ५१ हजार, प्रदेश विशेष अनुदान रु ४० लाख, प्रदेश समपुरक अनुदान रु ६० लाख, आन्तरिक राजस्वबाट प्राप्त हुने रु ३ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको बताइएको छ ।
समपुरक अनुदान तथा अन्य अख्तियारी मार्फत प्राप्त हुने बजेटहरु स्थानीय संचितकोष व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी बजेटको कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी सुशासन र जनता प्रति पूर्ण जिम्मेवार पूर्वक भूमिका निर्वाह गर्ने कार्यमा स्थानीय सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको उपप्रमुख उमा गोतामेले बताइन् ।
नगरपालिकाले सर्बसुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी तथा सरसफाई, संस्कृति प्रबद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विकास मार्फत सामाजिक विकास, कृषि, पशुपालन, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास, सडक तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा तथा सञ्चार क्षेत्रको विकास मार्फत पूर्वाधार विकास, वन, वातावरण तथा जनसहभागितामा आधारित विपद् ब्यवस्थापन, सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गरी आधुनिक प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह सुशासन तथा संस्थागत विकासलाई जोड दिईएको छ ।
यस्तै, नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि ‘स्वस्थ गाउँशहर भानुको बहार, जनताको घर दैलोमा स्वास्थ्य उपचार’ भन्ने नीतिलाई अगाडि ल्याएको छ । समग्र स्वास्थ्य सेवा र स्वस्थ मानवपुंजी निर्माणका लागि सशर्त र आन्तरिक गरी स्वास्थ्य तथा आयुर्बेद क्षेत्रलाई ७ करोड १८ लाख ५२ हजार बजेट विनियोजन गरिएको छ।
नागरिकको आरोग्यतालाई ध्यानमा राख्दै महामारी रोग नियन्त्रण कार्यक्रम अन्तर्गत डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि रु ३ लाख, क्षयरोगमुक्त घोषणा अभियानका लागि रु २२ लाख ६० हजार र मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसंचार, न्यानो झोला, निःशुल्क गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमका लागि रु ६ लाख ३० हजार बजेट विनियोजन गरिएको उपप्रमुख गोतामेले बताइन्।
यस्तै, नगरपालिकाले महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभि खोप अभियान कार्यक्रम सञ्चालनका लागि रु ४ लाख ३० हजार बजेट विनियोजन गरेको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराईरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका व्यक्तिहरुलाई मासिक रु ५ हजारका दरले उपचार खर्च उपलब्ध गराउनका लागि रु ५१ लाख ६५ हजार बजेट विनियोजन गरिएको छ ।
विपन्न नागरीकहरुको निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम, स्वास्थ्य वीमा फार्मेसी, आँखा उपचार केन्द्र र मेयरसंग जनस्वास्थ्य अभियान कार्यक्रमका लागि रु ४१ लाख बजेट विनियोजन गरिएको छ ।
पुरनडिही नगर अस्पतालमा डिजिटल एक्स–रे मेसिन खरिद र कालिमाटी नगर अस्पतालमा एक्स–रेको प्रिन्टर खरिदका लागि रु १७ लाख र पुरनडिही अस्पताल आयूर्वेद सेवा कार्यक्रम (प्रदेश सरकार मार्फत कर्मचारी व्यवस्थापन भएकोमा सेवा सञ्चालन व्यवस्थापन)का लागि रु ३ लाख बजेट विनियोजन गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker