दमौलीमा प्रभातफेरिसहित संविधान दिवस : संविधान कार्यान्वयनमार्फत नागरिकको जीवनमा परिवर्तन ल्याउनुपर्छ

दमौली । संविधान दिवस–२०८३ को अवसरमा शनिबार दमौलीमा झण्डोत्तोलन, प्रभातफेरि तथा प्रवचन कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ ।
व्यास नगरपालिका–३ स्थित प्रशासनचोकमा राष्ट्रिय सभा सदस्य पदमबहादुर परियार र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले संयुक्त रूपमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेपछि प्रभातफेरि सुरु भएको थियो । प्रशासनचोकबाट सुरु भएको प्रभातफेरि व्यास नगरपालिकाको सभाहलमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो ।
प्रवचन कार्यक्रममा वक्ताहरूले संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले नेपालको संविधानले नागरिकका मौलिक अधिकार, समावेशिता र लोकतान्त्रिक मूल्यलाई संस्थागत गरेको बताए । संविधान जनताको सार्वभौमसत्ता, संघर्ष र बलिदानको परिणाम भएकाले यसको प्रभावकारी कार्यान्वयनबाट नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘संविधानले अधिकार सुनिश्चित गरिसकेको छ, अब त्यसको कार्यान्वयनबाट नागरिकको जीवनमा परिवर्तन ल्याउनुपर्छ ।’
राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संविधानले राज्यको मूल प्रवाहबाट पछाडि पारिएका वर्ग, समुदाय र लिङ्गलाई समेट्ने आधार तयार गरेको बताए । संविधानको मर्मअनुसार समावेशी व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सके मात्र यसको उद्देश्य पूरा हुने उनले बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले संविधानको मर्म नागरिकले विकास, सेवा र सुशासनको अनुभूतिमार्फत महसुस गर्नुपर्ने बताए । तीन तहका सरकारबीच प्रभावकारी समन्वय भएमा संविधानले परिकल्पना गरेको सेवा प्रवाह थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय सरकार संविधान कार्यान्वयनको महत्वपूर्ण आधार भएको बताए । स्थानीय तहबाटै नागरिकलाई लोकतन्त्र, सुशासन र संवैधानिक अधिकारको प्रत्यक्ष अनुभूति गराउनेतर्फ नगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
‘संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई प्रभावकारी रूपमा प्रयोग गर्दै नागरिकको जीवनमा परिवर्तन ल्याउनुपर्छ’, न्यौपानेले भने, ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएकाले यसको कार्यसम्पादनले संविधानप्रतिको विश्वास बलियो बनाउँछ ।’
व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले संविधानले महिला, दलित तथा पछाडि पारिएका समुदायका लागि सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । अधिकारको प्रभावकारी प्रयोगसँगै सामाजिक विभेद अन्त्य गर्न स्थानीय तहले भूमिका बढाउनुपर्ने उनले बताइन् ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजलगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।
यस्तै, तनहुँका १० वटै स्थानीय तहले विविध कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।










