पहाडकी रानी बन्दीपुर : एक प्रसंग, अनेक पहिचान

देव बस्न्यात

‘इतिहास, संस्कृति, व्यापार, प्रशासन र पर्यटनको लामो यात्राले बनेको बन्दीपुरको पहाडकी रानी पहिचान कुनै एक व्यक्तिको योगदान होइन’

विषय प्रवेश

बन्दीपुर एफएमबाट ‘पहाडकी रानी बन्दीपुर’ विषयमा कुराकानीका लागि मित्र बाबुराम खनालले समय माग्नुभयो । त्यही समयमा प्रकाशनको तयारीमा रहेको ‘पहाडकी रानी’ पुस्तकका लेखक डिल्लीराम मिश्रसँग पनि बन्दीपुरका यस्तै विषयमा घनीभूत छलफल भइरहेको थियो। बन्दीपुरबारे उहाँले गर्नुभएको गहिरो अध्ययनको तुलनामा मेरो अध्ययन सीमित भए पनि देखे–बुझेका र विभिन्न स्रोतबाट जानकारी पाएका विषयलाई समेटेर अन्तर्वार्ताकारका जिज्ञासा मेटाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्यो ।

अन्तर्वार्तामा सहभागी पनि भएँ । आफूले जाने–बुझेका केही विषय प्रस्तुत गरियो । तर अन्तर्वार्तापछि केही महत्वपूर्ण प्रसङ्ग छुटेको महसुस भयो । अन्तर्वार्तामार्फत छुटेका सबै कुरा समेट्न समय र परिस्थिति अनुकूल नहुन सक्छ । त्यसैले छुटेका प्रसङ्गलाई यही लेखमार्फत अभिलेखीकरण गर्ने प्रयास गरेको हुँ ।

गण्डकी प्रदेशको तनहुँ जिल्लामा पर्ने बन्दीपुर आज ‘पहाडकी रानी’का नामले देश–विदेशमा परिचित पर्यटकीय नगरी हो । कुनै समय तनहुँका सेन राजाहरूको मुकाम तथा दरबार, पश्चिम ३ नम्बरअन्तर्गत तनहुँ, लमजुङ, मनाङ र कास्कीसमेतको प्रशासनिक केन्द्र, पछि तनहुँ जिल्लाको सदरमुकाम बनेको बन्दीपुर इतिहासका अनेक मोड पार गर्दै आज पर्यटनको महत्वपूर्ण गन्तव्य बनेको छ ।

तर बन्दीपुरको यो पहिचान एकै दिनमा बनेको होइन । यसका पछाडि राजा, शासक, सैनिक, कारीगर, व्यापारी, नेवार, मगर, ब्राह्मण, क्षेत्री, समाजसेवी, प्रवासी बन्दीपुरे र पछिल्लो समय पर्यटन प्रवर्द्धनमा जुटेका व्यक्ति तथा संस्थाको लामो योगदान जोडिएको छ । त्यसैले ‘बन्दीपुरलाई पहाडकी रानी बनाउने को हुन् ?’ भन्ने प्रश्नको उत्तर खोज्नु पनि बन्दीपुरको इतिहास बुझ्ने महत्वपूर्ण आधार हो ।

मुकुन्द सेनदेखि बन्दे कामीसम्म

बन्दीपुरलाई ऐतिहासिक रूपमा चिनाउने पहिलो महत्वपूर्ण व्यक्तित्व पाल्पाका राजा मणिमुकुन्द सेनलाई मान्न सकिन्छ । विशाल पाल्पा राज्य विस्तार तथा काठमाडौं उपत्यकातर्फको सैन्य अभियानका क्रममा उनले बन्दीपुर आसपासका क्षेत्रलाई मुकामका रूपमा प्रयोग गरेको इतिहाससँग जोडिएका प्रसङ्ग पाइन्छन् ।

कुलुङकोटमा मुकाम दरबार र मुच्चोकको शिखरमा सैनिक गढी बनाएर बसेका मणिमुकुन्द सेनले बन्दीपुरको प्राकृतिक सौन्दर्य र रणनीतिक महत्व पहिचान गरेको मानिन्छ । अहिलेको टुँडिखेलबाट उत्तरतर्फ हेर्दा देखिने धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु र बुद्ध हिमालको अनुपम दृश्यले पनि त्यतिबेला यहाँको भौगोलिक महत्व आकर्षित गरेको हुनुपर्छ ।

मुच्चोकको शिखरमा अहिले पनि पुराना इनार, निवासका भग्नावशेष, सत्तलपाटी र सैनिक टुँडिखेलका अवशेष रहेको बताइन्छ । मणिमुकुन्द सेनका छोरा भृङ्गी सेनले पिताको सम्झनामा मुच्चोकमा मुकुन्देश्वरी मन्दिर निर्माण गरी खड्गको पूजा सुरु गरेको परम्परा पनि बन्दीपुरको इतिहाससँग जोडिएको छ । स्थानीय तह, प्रदेश सरकार र स्थानीय बासिन्दाको पहलमा जीर्ण मन्दिर पुनर्निर्माण हुनु पनि संरक्षणका दृष्टिले महत्वपूर्ण काम हो ।

जीवनको उत्तरार्धमा योगीको भेष धारण गरेका मणिमुकुन्द सेनसँग जोडिएका अनेक किंवदन्ती बन्दीपुरमा प्रचलित छन् । पार्चेमा मणि स्थापना, महादेवस्थानमा मुकुन्देश्वर महादेवको स्थापना र देवघाटमा तपस्या गरेको प्रसङ्ग स्थानीय इतिहास र जनश्रुतिमा पाइन्छ ।

त्यस्तै बन्दीपुरको पहिचानमा अर्को महत्वपूर्ण नाम हो– बन्दे कामी । बन्दीपुर पहिले ‘बन्देथोक’का रूपमा चिनिन्थ्यो भन्ने मान्यता छ । मगर भाषामा ‘थोक’ले गाउँलाई जनाउने र बन्दे कामीले आफ्नै आरान राखेर काम गरेको स्थान ‘बन्देथोक’ हुँदै पछि बन्दीपुर नाम प्रचलनमा आएको भनाइ छ ।

तनहुँसुरका राजा हरकुमारदत्त सेनको समयतिर गोरखासँगको युद्धका लागि आवश्यक हतियार निर्माणको जिम्मेवारी बन्दे कामीले पाएको प्रसङ्ग पनि महत्वपूर्ण छ । उनले निर्माण गरेका तरवार र पछि तोप निर्माणमा देखाएको सीपले उनलाई नेपालकै प्रारम्भिक हतियार विशेषज्ञका रूपमा सम्झने आधार दिएको छ ।

बन्दे कामीको योगदानलाई केवल स्थानीय इतिहासका रूपमा सीमित गर्नु हुँदैन । बन्दीपुरको पहिचान निर्माणमा उनको योगदानको खोज, अभिलेखीकरण र सम्मान आवश्यक छ । बन्दीपुरमा मणिमुकुन्द सेन र बन्दे कामीको योगदानलाई स्मरण गराउने सालिक वा स्मारक निर्माण गर्न सके यसले ऐतिहासिक पर्यटनलाई समेत नयाँ आयाम दिन सक्छ ।

भक्तपुरे नेवार र बन्दीपुरको व्यापारिक उन्नति

बन्दीपुरलाई गाउँबाट विकसित व्यापारिक केन्द्रका रूपमा रूपान्तरण गर्ने श्रेय भक्तपुरबाट आएका नेवार समुदायलाई पनि जान्छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा भक्तपुरमाथि भएको आक्रमणपछि त्यहाँबाट विस्थापित भएको एउटा समूह तनहुँको तार्कुघाट हुँदै बन्दीपुर पुगेको इतिहासमा उल्लेख पाइन्छ ।

भारत र तिब्बतबीचको व्यापारिक मार्गको मध्यविन्दुमा रहेको बन्दीपुरको भौगोलिक अवस्थिति उनीहरूका लागि आकर्षक बन्यो । बन्देथोकका मगर तथा कामी समुदायसँग जग्गा खरिद गरी व्यापारिक गतिविधि विस्तार गर्दै नेवार समुदायले बन्दीपुरलाई व्यवस्थित बजारका रूपमा विकास गरे ।

प्रधान, पिया, जोशी, श्रेष्ठलगायतका परिवारको योगदानले बन्दीपुरको व्यापारिक गतिविधि विस्तार भयो । भारतको पटना हुँदै बेलायतको लन्डनसम्म व्यापारिक सम्बन्ध विस्तार भएको बन्दीपुरको इतिहासले यहाँको आर्थिक उन्नतिको कथा सुनाउँछ । पश्चिमतर्फ तनहुँ, लमजुङ, गोरखा, मनाङ, धादिङ, कास्की, पर्वत र बागलुङसम्म बन्दीपुरबाट सामान पुग्ने गर्दथ्यो ।

यही व्यापारिक समृद्धिले बन्दीपुरमा कलात्मक घर, ढुंगाले छापिएका बाटा, पाटीपौवा, मन्दिर र बजार संस्कृतिको विकास भयो । आज पर्यटकले देख्ने पुरानो बन्दीपुरको वास्तुकला त्यही व्यापारिक समृद्धिको जीवन्त प्रमाण हो ।

प्रशासनिक केन्द्रदेखि ‘मृत शहर’सम्म

बन्दीपुर तनहुँसुरे सेन राजाहरूको समयदेखि नै महत्वपूर्ण प्रशासनिक केन्द्रका रूपमा विकसित हुँदै आएको थियो । वि.सं. १८४१ मा तनहुँ राज्य नेपालमा विलय भएपछि प्रशासनिक संरचना क्रमशः तनहुँसुरबाट बन्दीपुरतर्फ सर्दै गयो। पश्चिम ३ नम्बरअन्तर्गत तनहुँ, लमजुङ, मनाङ र कास्कीसमेतको प्रशासनिक गतिविधि बन्दीपुरसँग जोडियो। बन्दीपुरमा गोश्वारा तथा प्रशासनिक कार्यालयहरू सञ्चालनमा आए । वि.सं. १९५२ देखि २०२५ सालसम्म बन्दीपुर तनहुँ जिल्लाको सदरमुकाम रह्यो ।

तर २०२५ सालमा सदरमुकाम दमौली सारिएपछि बन्दीपुरको आर्थिक तथा प्रशासनिक जीवनमा ठूलो धक्का लाग्यो । अधिकांश सरकारी कार्यालय दमौली सरे । बजार सुनसान हुँदै गयो । मानिसहरू अन्यत्र बसाइँ सर्न थाले । कहिलेकाहीँ बन्दीपुरलाई ‘मृत शहर’समेत भन्न थालियो। सदरमुकाम सार्ने निर्णय र त्यसको कार्यान्वयनसँग जोडिएका राजनीतिक तथा प्रशासनिक व्यक्तित्वको भूमिका इतिहासको अलग अध्ययनको विषय हो । तर यस घटनाले बन्दीपुरको पुरानो आर्थिक संरचनामा पारेको प्रभाव भने अस्वीकार गर्न सकिँदैन ।

सम्पदाले जोगाएको बन्दीपुर

बन्दीपुरको पुनर्जागरणको मूल आधार यहाँका मूर्त र अमूर्त सम्पदा हुन। भक्तपुरे शैलीका पुराना घर, कलात्मक आँखीझ्याल, ढोका, टुँडाल, ढुंगाले छापिएको बाटो र परम्परागत बजार संरचना बन्दीपुरको मौलिक पहिचान बने ।

खड्गदेवी मन्दिर, भीमसेन मन्दिर, तीनधारे महादेव, तीनधाराको कलात्मक ढुंगेधारा, थानीमाई, लक्ष्मीमन्दिर, टुँडिखेल र हात्तीढुंगाजस्ता सम्पदा बन्दीपुरको आकर्षण हुन् । टुँडिखेलबाट देखिने हिमश्रृंखला र मस्र्याङ्दी उपत्यकाको दृश्यले प्राकृतिक पर्यटनलाई थप बल दिएको छ ।

त्यति मात्र होइन, बन्दीपुरका मगर समुदायको कौरा, घाँटु, मारुनी, झ्याउरे, देउसी–भैलो; ब्राह्मण–क्षेत्री समुदायका भजन, चुड्का तथा नेवार समुदायका लाखे, टाकटुके, इन्द्रजात्रा, बाघजात्रा, रोपाइँजात्रा र शास्त्रीय नाचजस्ता अमूर्त सम्पदा पनि बन्दीपुरको मौलिक सांस्कृतिक पूँजी हुन् ।

वि.सं. २०१५ सन १९५८ तिर अजयकुमार रायमाझीले अमेरिकी पर्यटकलाई बन्दीपुर ल्याएको प्रसङ्ग पनि यहाँको पर्यटन इतिहासमा महत्वपूर्ण मानिन्छ । बन्दीपुरको सफा, चिटिक्क परेको बजार र स्लेट ढुंगाले छापिएको बाटोबाट प्रभावित पर्यटकले विदेश पुगेर यसको प्रचार गरेपछि बन्दीपुर अन्तर्राष्ट्रिय पर्यटकको नजरमा पर्न थालेको भनाइ छ ।

तर विकाससँगै चुनौती पनि आयो । घरदैलोमा मोटरबाटो पु¥याउने चाहनाले पुरानो संरचना र मौलिकता संकटमा पर्न थाले । यही समयमा तुलसी प्रधान लगायतका व्यक्तिले बन्दीपुरको केन्द्र बजारमा मोटर रोक्ने र पुरानो स्लेट ढुंगाको बाटो जोगाउने अवधारणा अघि सारे । इन्जिनियर बलराम प्रधान, ईश्वरगोपाल प्रधान र मथुरा प्रधानलगायतले पनि त्यस अभियानमा समर्थन गरे ।

तत्कालीन प्रधानपञ्च रविचन्द्र भट्टराईले स्थानीयस्तरमा जनमत लिएको र मौलिक संरचना संरक्षण गर्ने पक्ष विजयी भएको प्रसङ्ग बन्दीपुरको पर्यटन विकासमा एउटा महत्वपूर्ण मोड बन्यो । संयुक्त राष्ट्रसंघ लगायतबाट प्राप्त सहयोगसमेत मौलिक वास्तुकला संरक्षण र भौतिक विकासमा उपयोग गरियो । यही संरक्षणमुखी सोचले बन्दीपुरलाई पुनः आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न ठूलो मद्दत गर्यो ।

बजारभन्दा बाहिर पनि छ बन्दीपुर

आज बन्दीपुर भन्नासाथ अधिकांशको आँखामा पुरानो बजार, टुँडिखेल र हिमालको दृश्य आउँछ । तर बन्दीपुरको वास्तविक पर्यटन सम्भावना बजारभन्दा धेरै बाहिर फैलिएको छ । रामकोट, मुकुन्देश्वरी, मुच्चोक, मुचुकुन्द गुफा, सन्तानेश्वर महादेव, पारकोट, पारकुना, चण्डीमन्दिर, पार्चेको मढीडाँडा, चेकित ऋषिको तपोभूमि, गोलडाँडा चौतारा, हुस्लाङको जितगढी, चन्द्रकोट, सराङघाट र सुकौराजस्ता ऐतिहासिक तथा धार्मिक स्थललाई एउटै पर्यटन सर्किटमा जोड्न सकिन्छ ।

यी क्षेत्रको व्यवस्थित पहिचान, संरक्षण र प्रचार गर्न सके बन्दीपुर आउने पर्यटकलाई बजार घुमाएर एकै दिन फर्काउने अवस्थाबाट माथि उठाउन सकिन्छ । पर्यटकलाई केही दिन बन्दीपुरमै बस्ने वातावरण बनाउन सकिए स्थानीय अर्थतन्त्रमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ । बन्दीपुर वरपर सञ्चालनमा आएका होमस्टे, स्थानीय परिकार र बन्दीपुर सफारीले पनि यस अभियानलाई अघि बढाइरहेका छन्। गाउँ, संस्कृति, कृषि, खानपान र स्थानीय जीवनशैलीसँग पर्यटनलाई जोड्न सकिए बन्दीपुरको पर्यटन अझ दिगो बन्न सक्छ ।

बन्दीपुरको पहाडकी रानी पहिचान

पृथ्वी राजमार्गले बन्दीपुरको यातायात पहुँच बढायो । वि.सं. २०६० सालदेखि सुरु भएको बन्दीपुर महोत्सवले पनि यहाँको पुरानो संरचना, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई देश–विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेल्यो ।

त्यसमा बन्दीपुर सामाजिक विकास संस्था, स्वदेशका विभिन्न शहरमा पुगेका बन्दीपुरे र अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशमा पुगेका प्रवासी बन्दीपुरेको योगदान पनि बिर्सन मिल्दैन । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने भावनालाई आत्मसात् गर्दै आफ्नो जन्मभूमिको पहिचान स्थापित गर्न उनीहरूले गरेको प्रयास प्रशंसनीय छ ।

कुनै समय प्रशासनिक केन्द्र, व्यापारिक नगरी र सदरमुकाम रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि सुनसान बनेको थियो । तर त्यही खण्डहर हुँदै गएको शहर आज फेरि पर्यटनको खानी बनेको छ । यो परिवर्तन आफैंमा एउटा महत्वपूर्ण विकास कथा हो ।

त्यसैले ‘पहाडकी रानी’ बन्दीपुर केवल सुन्दर बजारको नाम होइन । यो इतिहास, संस्कृति, व्यापार, वास्तुकला, प्रकृति, कला र स्थानीय समुदायको सामूहिक योगदानबाट बनेको पहिचान हो । बन्दीपुरलाई चिनाउने राजा मणिमुकुन्द सेनदेखि बन्दे कामी, भक्तपुरे नेवार व्यापारी, स्थानीय संस्कृतिका संरक्षक, पर्यटन अभियन्ता, प्रवासी बन्दीपुरे र पछिल्लो पुस्ताका पर्यटनकर्मी सबै यस कथाका पात्र हुन् ।

अबको चुनौती बन्दीपुरलाई विगतको गौरवमा सीमित राख्नु होइन, त्यसलाई भविष्यसँग जोड्नु हो । पुराना सम्पदा जोगाउँदै नयाँ पूर्वाधार निर्माण गर्ने, बजारभन्दा बाहिरका ऐतिहासिक तथा धार्मिक स्थललाई पर्यटन सर्किटमा जोड्ने, स्थानीय उत्पादन र होमस्टेलाई प्रवर्द्धन गर्ने तथा बन्दीपुरको इतिहासलाई प्रमाणसहित अभिलेखीकरण गर्ने काम आवश्यक छ ।

बन्दीपुरले विगतमा मृत शहरबाट पुनर्जीवन पाएको छ । अब यसलाई अनियन्त्रित विकासका कारण मौलिकता गुमाउने जोखिमबाट जोगाउँदै दिगो पर्यटनको नमुना बनाउनुपर्छ । इतिहासलाई सम्मान, सम्पदालाई संरक्षण र भविष्यलाई दृष्टिगत गर्न सके ‘पहाडकी रानी’को यो उपाधि केवल उपनाममा सीमित रहने छैन– बन्दीपुर नेपालको मौलिक, जीवन्त र दिगो पर्यटन गन्तव्यका रूपमा अझ उचाइमा पुग्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker