तनहुँको म्याग्दे गाउँपालिकाले लिएको अनुदान नीतिले दूध उत्पादनमा वृद्धि

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई रु २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति लिटर रु दशका दरले अनुदान उपलब्ध गराइएको छ ।
तीन वटा सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानले अनुदान पाएका छन् । चालु आर्थिक वर्षमा तीन वटा सहकारी संस्थामार्फत् दुई लाख ८८ हजार आठ सय २० लिटर दूध बिक्री भएको छ । म्याग्दे गाउँपालिका–४ स्थित म्यादे दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३७ हजार नौ सय ४७, गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थाबाट ३४ हजार सात नौ र साँगे चारहजार दूध उत्पादक सहकारी संस्थाबाट १६ हजार एक सय ६४ लिटर दूध उत्पादन भएको छ ।
 त्यसमध्ये म्याग्दे दुग्ध सहकारीलाई रु २३ लाख ७९ हजार चार सय ७७, गौ सेवा दुग्ध सहकारीलाई रु तीन लाख ४७ हजार ११ र साँगे चारहजार दुग्ध सहकारीलाई रु एक लाख ६१ हजार छ सय ४० अनुदान उपलब्ध गराइएको शाहले बताउनुभयो । गाउँपालिकाले गत जेठ २० गते तीन वटा सहकारीलाई बिक्री भएको दूधको अभिलेख, भुक्तानी बिलको प्रमाणित प्रतिलिपिसहित उक्त किसानले बिक्री वितरण गरेको एकमुष्ट विवरण माग गरेको थियो ।
गत आर्थिक वर्षमा गाउँपालिकाले किसानलाई रु १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान वितरण गरेको थियो । त्यसबेला एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको थियो । म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने किसानलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई रु दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको थियो ।
दूध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराएपछि किसान उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि किसान खुसी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले गाउँपालिकाको यो कामले किसानको हौसला बढाएको बताउँदै जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा भएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने नीति लिइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौँ । यसले गर्दा दुग्ध उत्पादक किसान पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छौँ ।” रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker