भूमिहीन भन्छन् : “जग्गाको लालपुर्जा दिने कहिले ? भोट माग्नलाई निर्वाचनको मुखमा निस्सा बाँढे”
तनहुँका ३२० जनालाई जग्गाको निस्सा वितरण
भञ्ज्याङ समाचारदाता/दमौली
राष्ट्रिय भूमि आयोगसंगको सहकार्यमा तनहुँको बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका ३२० जना भुमिहिन सुकुम्बासीलाई ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण (निस्सा) वितरण गरिएको छ । बन्दिपुरको वडा नं. १ रिमाल्नीका ७३ जनालाई सोमबार र शुक्लाण्डकी नगरपालिका-७ का २४७ जनालाई आइतबार जग्गाको निस्सा वितरण गरिएको हो ।
बन्दिपुर गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण (निस्सा) वितरण कार्य सुरु गरेको छ । गाउँपालिकामा ३५३ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले जग्गा प्राप्तिका लागि निवेदन एकिा छन् ।
गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङ, वडाध्यक्ष भानुभक्त पोख्रेलले वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी ऐलानी, पर्ती जग्गा उपभोग गर्दै आए पनि प्रमाण बिहीन रहेका स्थानीयलाई जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया अन्तरगत निस्सा वितरण गरेका हुन् ।
‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं’, गाउँपालिका अध्यक्ष थापाले भने, ‘जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने छ । छिट्टै जग्गाको लालपूर्जापनि पाउनुहुने छ।’

‘जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको हो’, अध्यक्ष थापाले भने, बन्दिपुरको वडा नम्बर १ बाट शुरु भएको निस्सा वितरण कार्यक्रम ६ वटै वडामा क्रमिक रुपमा सुरु गर्र्छौ ।’
यस्तै, शुक्लागण्डकी नगरपालिका-७ स्याली बजारमा पनि आइतबार एक कार्यक्रमको आयोजना गरी भोगचलान गर्दै आएका २४७ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ ।
शुक्लागण्डकी-७ स्याउली बजारका टिकाराम शर्माले जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरेपनि त्यो कागजप्रति उनले शंका गरेका छन् । नगरपालिकाले उनको हातमा निस्सा थमाइदिए पनि उनको मुहारमा खुसी छाउन सकेको छैन ।
२०३२ सालदेखि भानुमतीको थात्थलो छाडेर स्यालीबजार बसाइ झरेका उनको एउटै सपना छ : ‘सिरानीमा लालपुर्जा च्यापेर निदाउने ।’ नगरपालिकाले बाँडेको निस्सा हातमा हुँदा पनि लालपुर्जा पाइन्छ भन्ने झिनो आश नभएको उनले बताए। उनी भन्छन्, ‘सबैले लिँदा किन नलिम भनेर मात्र निस्सा लिएको हो । लालपुर्जा हातमा नपरुन्जेलसम्म भरोसा कत्ति पनि छैन ।’
‘जब हातमा लालपुर्जा पर्छ तब मात्र खुसी हुन्छु’, उनले भने, ‘यो औपचारिक मात्रै हो । चुनावको मुखमा आएर निस्सा बाढेर भोट फकाएको हो कि भन्ने हामीलाई शंका लागेको छ ।’ निस्सा पाएका सबैसँग यस्तै यस्तै शंका र आशंका थिए ।
३० वैशाखमा हुन लागेको निर्वाचनको संघारमा निस्सा बाँडिएकाले भोट तान्ने उपाय हुन सक्ने आशंका गर्छन् बाबुराम सिग्देल पनि । निस्सा थमाउँदैमा खुसी हुने अवस्था नरहेको उनले सुनाए ।
‘पटक पटक लालपुर्जा दिन्छौं भनेर ढाटिएकाले निस्सा बाँड्दा पनि आश जगाएको छैन’, उनले भने, ‘धेरै पटक बस्तीमा मन्त्री नै आएर लालपुर्जाको आश्वासन बाँडे, पूरा कहिल्यै गरेनन् । निस्सा लिएर लालपुर्जा पाउने झिनो आश पनि छैन । एक फेर हो र ? पटक पटक भएपछि कसरी आश गर्ने ?’
लालपुर्जा नभएका यहाँका बासिन्दाहरुले सरकार भएको महसुस गर्नै नपाएको उनले बताए । उनले भने, ‘आफूले उपभोग गरेको जग्गाको लालपुर्जा नभएपछि बैंकमा धितो राखेर ऋण झिक्नसमेत पाएका छैनौं । यति मात्र होइन् हामीबाट सरकारले ठूलो मात्रमा राजश्व पनि गुमाइरहेको छ ।’
निस्सा पाएकाको जग्गा नाप जाँच हुने र लाालपुर्जा दिइने भन्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र शुक्लागण्डकीका नगरप्रमुख किसान गुरुङले निस्सा बाँडेका थिए ।

निस्साले टिकाराम र बाबुरामलाई जस्तै विष्णुमाया श्रेष्ठलाई पनि लालपुर्जाको आश दिलाउन सकेन । उनले भनिन्, ‘यसपालि पनि लालपुर्जा पाइँदैन होला भनेर आशंकित बनाएको छ ।’ उनले निस्सा बाँड्दै लालपुर्जा दिन्छौं भन्नु चुनावी आश्वासन ठानेकी छन् ।
लालपुर्जाको कुरा सुन्दा सुन्दै कान थाकेको उनले बताइन् । लालपुर्जाको आश्वासन धेरै पाइयो । आशमा धेरै पटक फारम पनि भर्यौं, हातमा अहिलेसम्म लालपुर्जा पर्न नसकेको दुखेसो गरिन् ।
जानकारहरूका अनुसार २०३० सालपछि शुक्लागण्डकीका स्थानीयलाई लालपुर्जा दिन गरिएको प्रयास यो आठौं पटक हो। अहिलेसम्म सफल भएको देखिँदैन ।
आइतबार शुक्लागण्डकी नगरपालिका-७ का ३९ घरलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भन्दै निस्सा बाँडिएको छ । २४७ परिवारको निस्सा आएको भए पनि वितरण कार्यक्रममा धेरै सहभागी नै भएनन् । लालपुर्जा पाइन्छ भन्ने आश नभएको भन्दै धेरै सहभागी भएनन् ।
वडाबाट ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न निवेदन दिएकोमा ८६६ को विवरण अनलाइनमा दर्ता भएको छ । निस्सा आएकाको वितरण थालेको शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । निस्सा वितरण लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । उनका अनुसार अब नक्सा नापजाँच गरेर लालपुर्जा वितरण हुनेछ ।
आफ्नै कार्यकालमा हरेकको हातमा लालपुर्जा थमाउने शुक्लागण्डकीका नगरप्रमुख किसान गुरुङले बताए । काम गर्दा गर्दै पनि आफ्नो कार्यकालमा नसकिएपनि अब आउने जनप्रतिनिधिले लालपुर्जा बाँड्ने उनले विश्वास दिलाए ।
शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ७ सँगै ८ र २ मा अव्यवस्थित, सुकुम्बासीको बसोबास अधिक छ । शुक्लागण्डकीका १२ वडाबाट ४ हजार ४०३ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् ।
बस्तीमा सडक, बिजुली, खानेपानी, विद्यालयजस्ता आधारभूत विकास त भएको छ । तरपनि स्थानीय बासिन्दालाई पुर्जाविहीन हुनुको पीडाले सताइरहेको छ । हातमा आफुले उपभोग गरेको जमिनको जानपुर्जा नहुँदा हामी अनागरिक जस्तै बनेको उनिहरुको दुखेसो छ ।










