भोटेकोशी बाढीः टिमुरेदेखि चितवनसम्मको प्रतिकार्य प्रयास

अशोक घिमिरे/रासस

काठमाडौँ : बुधबार बिहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा सबैभन्दा बढी प्रभावित भए । बाढीको प्रत्यक्ष असर चितवनसम्मै पुग्यो । मानवीय क्षतिका दृष्टिकोणबाट सिङ्गो मुलुक स्तब्ध छ ।

चीनसँगको सीमा नाका, गोसाइँकुण्ड मेला र मानसरोवर जाने मार्गका रुपमा समेत रहेकाले सयौँको सङ्ख्यामा पर्यटक सम्पर्कविहीन हुँदा यस घटना विश्वव्यापी चासोको विषय बनेको छ । गत वर्ष पनि ल्हेन्दे खोला हुँदै आएको बाढीले जनधनको क्षति पु¥याएको थियो । तर यस वर्षको बाढी गत वर्षको भन्दा कयौँ गुणा शक्तिशाली भएकाले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ ।

बाढीग्रस्त क्षेत्रमा अहिले प्रभावितको उद्धार, हराइरहेका नागरिकको खोजी तथा उद्धार गरिएका व्यक्तिको पुनःस्थापना भइरहेको छ । मुख्य प्रभावित जिल्लामा विपद् प्रतिकार्यमा के–कस्ता गतिविधि भइरहेका छन् ? यसैसन्भर्दमा राष्ट्रिय समाचार समिति (रासस) ले त्यस क्षेत्रका सांसद र सरकारी अधिकारीसँग गरेको संक्षिप्त कुराकानीः

‘टेलिफोन सेवा अवरुद्ध भएकाले उद्धार र राहतमा कठिनाइ’
मोहन आचार्य, प्रतिनिधिसभा सदस्य, रसुवा

आकस्मिकरुपमा आएको बाढीबाट मुलुकको उत्तरतर्फको व्यापारिक नाका रहेको रसुवाको टिमुरे, रसुवागढी, घट्टेखोला, स्याफ्रुबेँसी, हाकुवेसी, मैलुङ, खाल्टेबस्ती र बेत्राबती बजारमा ठूलो क्षति पुगेको छ । बाढीबाट जिल्लाको गोसाइँकुण्ड, आमाछोदिङ्बो, कालिका र उत्तरगया पालिकाका तटीय क्षेत्रका बजार र बस्ती नराम्ररी प्रभावित भएका छन् । अहिले बाढीमा फसेका नागरिकको उद्धार तथा हराइरहेका व्यक्तिको खोजी गर्ने काम भइरहेको छ । जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएकाले उद्धार र राहतमा कठिनाइ देखिएको छ । उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने काम जारी छ । बाढीबाट त्यहाँहस्थित सरकारी कार्यालयका केही कर्मचारी, सुरक्षाकर्मी, रसुवा घुम्न पुगेका पर्यटक, गोसाइँकुण्ड मेला भर्न पुगेका धार्मिक तीर्थालु, रसुवागढी नाकामा मालसामान लिन पुगेका व्यापारी तथा ट्रक तथा कन्टेनरका चालक÷सहचालक र जलविद्युत् आयोजनाका मजदुर हराइरहेको अनुमान छ । बाढीले सडक पूर्वाधारमा पनि ठूलो क्षति पु¥याएको छ ।

‘बाढीले राष्ट्रिय राजमार्ग जोड्ने तीन पुल बगायो’
नेत्रप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, गोरखा

बाढीबाट गोरखाको भूगोलमा मानवीय क्षति भएका छैन । धार्मिक यात्राका लागि रसुवातर्फ गएका केही नागरिक हराइरहेको भन्ने सूचनाका आधारमा विवरण सङ्कलनको काम जारी छ । बाढीबाट राष्ट्रिय राजमार्ग जोड्ने तीन वटा पुल बगेको छ । बजार र घर बस्तीमा क्षति छैन । गण्डकी गाउँपालिकाको धवादीघाटबाट धादिङको चरौदी र सोही गाउँपालिका–७ मा इटारबाट धादिङको चौकीटार जोड्ने पक्की पुल बगाएको छ । यस्तै बाढीबाट सहिदलखन गाउँपालिका–३ स्थित सिलिङटारबाट चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुलमा पूर्ण रुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक जारी छ । बाढीले बगाएर ल्याएका शवको व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको छ ।

‘तनहुँमा फेला परेका नौ शव गण्डकी अस्पतालमा’
शिवलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी, तनहुँ

हिजो बिहानैदेखि पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको थियो । तनहुँमा मानवीय भौतिक क्षति छैन । बाढीले बगाएर ल्याएका नौ वटा शव पोखरास्थित गण्डकी अस्पताल पठाइएको छ । आज बिहानैदेखि सुरक्षाकर्मीले तटीय क्षेत्रमा खोज तथा उद्धार जारी राखेका छन् । केही शव भेटिएका छन् । मुचुल्का गरेर ती शव अस्पतालमा पठाइनेछ ।

‘शव जोगाउन चुनौती थपिएको छ’
चिरञ्जीवी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, चिवतन

चितवनमा अहिलेसम्म बाढीले बगाएर ल्याएका ६७ शव फेला परेका छन् । शव सङ्कलन गर्ने र नबिग्रने गरी राख्ने प्रक्रिया अघि बढाइएको छ । फेला परेका शव भरतपुर अस्पताल र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ । शवको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनका लागि चुनौती देखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker