रुम्सी होमस्टेको प्रवर्द्धनमा रत्नहरि मेमोरियल अस्पतालको सक्रियता

दमौली : ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेर पनि पछि ओझेलमा पर्दै आएको तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँको प्रचार प्रसार र प्रवर्द्धनमा नीजि क्षेत्रले पनि सक्रियता देखाएका छन् ।
तनहुँको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले रुम्सी गाउँको प्रचार प्रसार र प्रवर्द्धन गर्ने सक्रियता देखाएको छ । अस्पतालले होमस्टे सञ्चालकहरूको हितका लागि विभिन्न सुविधा उपलब्ध गराउने भएको छ ।

अस्पतालका व्यवस्थापक लिला बहादुर थापाका अनुसार होमस्टे सञ्चालकहरूले परिचय पत्र देखाएमा अस्पतालका सेवामा १० प्रतिशत र औषधिजन्य वस्तुमा ५ प्रतिशत छुट उपलब्ध गराउने सहमति भएको छ । साथै, वर्षमा एक पटक रुम्सी गाउँमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत सहमति भएको बताइएको छ ।
होमस्टे सञ्चालक र जनप्रतिनिधी बीच गरिएको छलफलमा होमस्टेको प्रवर्द्धनका लागि अस्पताले उक्त योजना अघि सारेको हो। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरिएको छ ।

गण्डकी प्रदेश सरकारले ६५ लाख र व्यास नगरपालिकाले ३५ लाख रुपैयाँ लगानी साझेदारी गरेका छन् । परियोजना अन्तर्गत ११० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको छ ।
रुम्सी गाउँ आफ्नो प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र ग्रामीण जीवनशैलीका लागि परिचित छ । यहाँका होमस्टेले पाहुनालाई स्थानीयस्तरमै उत्पादित खानाका परिकार, स्थानीय रैथाने जातका कुखुरा र मगर समुदायको संस्कृति अनुसार आतिथ्य प्रदान गर्ने गरिन्छ ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष राना मगरका अनुसार यहाँका पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट निकै प्रभावित हुने गरेका छन् ।
दमौलीबाट बसमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै गएको छ । रुम्सी गाउँको प्रवर्द्धनमा रत्नहरि अस्पतालको सक्रियताले स्थानीय बासिन्दा र पर्यटकहरूको लागि थप सकारात्मक प्रभाव पर्ने स्थानीयले विश्वास गरेका छन् ।

स्वास्थ्य सेवामा सहुलियतले स्थानीयको विश्वास जितेको छ भने स्वास्थ्य शिविरले गाउँमा स्वास्थ्य सुविधाको पहुँच बढाउने अपेक्षा गरिएको छ।










