आँबुखैरेनीको निजी अस्पताल गाउँपालिकाको अस्पतालमा गाभियो

आँवुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य शिक्षासहित ५० शय्याको अस्पताल बनाउने लक्ष्यसहित सेवा दिन थालेपछि निजी अस्पताल नै सरकारीमा गाभिएको छ । गत मंसिर १ गते १५ शय्याको अस्पताल उद्घाटन गरी विशेषज्ञसहित स्वास्थ्य सेवा थालेको गाउँपालिकाले डायलायसिस लगायत विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ । एपेन्डिसाइटिस, हाइड्रोसिल, हर्निया र प्रसूतिको शल्यक्रिया सेवा दिन अप्रेसन थियटर निर्माण भइसकेको छ ।
आँबुखैरेनी गाउँपालिकाले गोरखा, लमजुङ र पूर्वी तनहुँ क्षेत्रलाई आधार बनाएर स्वास्थ्यको हब बनाउने उद्घोष गरेको छ । सोही अनुसार पूर्वाधार निर्माणदेखि सेवा विस्तारसम्मको काम थालेपछि आँबुखैरेनी बजारमा सञ्चालित निजी अस्पताललाई गाभ्न व्यवसायी सहमत भएका हुन् ।
३३ जना व्यवसायीले सञ्चालन गरेको करिब साढे ४ करोड लगानीको छिम्केश्वरी अस्पताल प्रालि आँबुखैरेनी अस्पतालमा गाभ्न सम्झौता भएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पताल प्रालिका कृष्णमान तामाङले आइतबार अस्पताल समायोजन गर्न सम्झौता गरेका हुन् ।
आँबुखैरेनी अस्पताललाई निकट भविष्यमै ५० शय्याको बनाउने लक्ष्यलाई सघाउन छिम्केश्वरी अस्पतालका सबै सेयर सदस्य सहमत भएपछि सरकारीमा गाभिएको बताइएको छ । छिम्केश्वरी अस्पतालको स्वामित्वमा रहेको सम्पूर्ण स्वास्थ्य उपकरण सामग्री तथा अस्पताल सञ्चालनसँग सम्बन्धित औषधि एवं अन्य सामग्री आँबुखैरेनी अस्पतालमा हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । सरकारी अस्पतालका लागि हस्तान्तरण भएको सामग्रीको मूल्यांकन गरी आँबुखैरेनी गाउँपालिका तथा अस्पताल परिसरमा शिलालेख स्थापना गरिने भएको छ ।
आँवुखैरेनी हस्पिटल । तस्विर : भञ्ज्याङ
सरकारीमा गाभेका निजी अस्पतालका सेयर सदस्यहरूका परिवारलाई आँबुखैरेनी अस्पतालमा उपलब्ध हुने सेवा आजीवन निःशुल्क गराउने सम्झौता पनि भएको छ। छिम्केश्वरी अस्पतालको पूर्वाधारमा गाउँपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य एकेडेमी सञ्चालन गरिने भएको छ। जसमा छिम्केश्वरीकै सदस्यहरूको सेयर लगानी हुनेछ ।
आँबुखैरेनी अस्पताल सञ्चालक समितिमा छिम्केश्वरी अस्पतालमा हाल रहेका शेयर सदस्यमध्येबाट प्रतिनिधित्व गराउने सम्झौता छ । छिम्केश्वरी अस्पतालका अध्यक्ष कृष्णमान तामाङले आँबुखैरेनी क्षेत्रका बासिन्दाका निम्ति एउटा पनि अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रमा केही त गरौं भने व्यवसायी मिलेर अस्पताल खोलिएको र अहिले गाउँपालिकाले नै अस्पताल चलाएर ५० शय्याको बनाउने लक्ष्य राखेपछि हस्तान्तरण गर्न आफूहरूले नै प्रस्ताव गरेको बताए।
‘आँबुखैरेनी क्षेत्रमा स्तरीय उपचारै नपाउने, चितवन, काठमाडौं कि पोखरातिर जानुपर्ने थियो । यस्तो अवस्थामा पहिले आँबुखैरेनी स्वास्थ्य चौकीलाई नै निजी क्षेत्र स्तरोन्नति गर्ने कि भन्ने पनि थियो,’ तामाङले भने, ‘यहीबीच सुरुमा ४ जना साथीले अस्पताल खोल्नुभयो, अनि हामी जोडिँदै गयौं र ३३ जना पुग्यौं । हामी कोही पनि शेयर सदस्य अस्पताल खोलेर पैसा कमाउँ भन्ने पक्षमा थिएनौं, एउटा मात्र उद्देश्य स्वास्थ्य सेवा थियो ।’
स्वास्थ्य एकेडेमीसहित ५० शय्याको अस्पताल बनाउने लक्ष्य गाउँपालिकाले राखेपछि सेयर सदस्यहरूको सल्लाहले पालिकालाई नै हस्तान्तरण गरेर साथ दिने निर्णयमा पुगेको तामाङले बताए । उनले भने, ‘सरकारी अस्पतालको विश्वास घट्दै निजी अस्पताल व्यापारमुखी भइरहेका बेला स्वास्थ्य सेवा जनताको निम्ति हुनुपर्छ र सरकारी अस्पतालको क्षमता बढाउनुपर्छ भनेरै समायोजन गरिएको हो ।’
गाउँपालिका अध्यक्ष शुक्र चुमानले निजी अस्पताल सरकारीमा समायोजन गर्ने आँबुखैरेनीका व्यवसायीको निर्णय स्वास्थ्य सेवा क्षेत्रको इतिहासमै सुनौलो अक्षरले लेखिने बताए । ‘रगत, पसिना बगाएको पैसाले खोलेको अस्पताल निःशुल्क रूपमा जसरी गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ, यो सानोतिनो कुरा होइन,’ अध्यक्ष चुमानले भने, ‘सबै बनिबनाउ अस्पताल हामीलाई हस्तान्तरण भएको छ । त्यसको भरपुर सदुपयोग गर्दै यहाँका नागरिकलाई अधिकतम सेवा प्रदान गरिने छ ।’
देशैभरिका पालिकामध्ये आँबुखैरेनीमा यसरी निजी अस्पताल नै हस्तान्तरण हुनु सायद पहिलो घटना हुन सक्ने चुमानको भनाइ थियो । उनले अब दुवै ठाउँबाट सेवा प्रवाह गरिने बताए । ‘सरकारी अस्पतालको विश्वास बढाउन, सेवामा वृद्धि गर्न जुन उद्दार छाति देखाउनुभएको छ, यो इतिहासमा नाम लेखिने छ । आउने पुस्तालाई प्रेरणा बन्ने छ,’ अध्यक्ष चुमानले भने ।
छिम्केश्वरी अस्पतालमा अप्रेसन थिएटर, डिजिटर एक्सरे मेसिन, विभिन्न रोगको परीक्षण गर्ने ल्याबका मेसिन तथा सामग्री, २८ शय्या र आईसीयू सहितको अस्पताल हस्तान्तरण भएको हो। गाउँपालिकाको अभियानमा कर्मचारीले समेत साथ दिएका छन् । कर्मचारीले पैसा उठाएर आँबुखैरेनी अस्पताललाई विभिन्न ल्याब टेस्ट गर्ने १० लाख रुपैयाँ बराबरको मेसिन खरिद गरेर सहयोग गरेका थिए ।
अस्पतालमा दैनिक कम्तिमा १ सय जना बिरामीले ओपीडी सेवा लिन आइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिए । गाउँपालिकाले आँबुखैरेनी अस्पतालमै १५ युनिट डायलायसिस सेवा दिने तयारी गरेको छ । अहिले ५ युनिटबाट सेवा दिइरहेको छ । गाउँपालिकाले निःशुल्क डायलायसिस सेवा दिइरहेको डा. क्षेत्रीको भनाइ छ ।
अस्पतालले तनहुँको आँबुखैरेनीका बन्दीपुर, गोरखाको पालुङटार, शहीदलखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी लगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक एमडीजीपी, ३ मेडिकल अधिकृत र १४ नर्ससहित करिब ५० जनशक्ति कार्यरत छ । अब निजी अस्पताल पनि गाभिएपछि कर्मचारी र सेवा पनि थपिने भएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker