दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरेका बेनीकोटका किसानलाई ढुवानीको समस्या

तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटका किसानले यस वर्ष दुई करोड मूल्य बढीको सुन्तला उत्पादन गरी बिक्री वितरण गरेका छन् । व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट दुई करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् ।
सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर दूरीमा रहेको बेनीकोटमा मंसिर महिनाभर किसानहरू सुन्तला टिप्न, छान्न र बिक्री गर्न व्यस्त हुने गर्दछन् । बेनीकोटका कृषक फलबहादुर थापाले यस वर्ष मात्रै १६ लाख ५० हजार रुपैयाँ बराबरको सुन्तला बिक्री गरेको बताएका छन्। सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका थापाका अनुसार गाउँभर करिब दुई करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बजार पठाइसकेका छन् ।
स्थानीय किसान कालबहादुर रानाले चार लाख रुपैयाँ, मनसिंह थापाले दुई लाख १० हजार रुपैयाँ, तारा थापाले तीन लाख ८० हजार रुपैयाँ तथा दिनबहादुर थापाले तीन लाख रुपैयाँको सुन्तला बिक्री गरिसकेका छन् । अधिकांश किसानले उत्पादन गरेको सुन्तला गाउँमै ठेकेदारलाई नै बेच्दै आएका छन् । ठेकेदारले बोटको मूल्य तोकेर फल टिप्ने, बोक्ने र ढुवानी गर्ने व्यवस्था गर्ने भएकाले किसानलाई बिक्रीमा सहज भएको छ ।
ढुवानीमा जोखिम, सडक स्तरोन्नतिको माग तीव्र
सुन्तलाको उत्पादन राम्रो भए पनि बेनीकोटबाट बजारसम्म ढुवानी गर्न भने किसानले निकै कठिनाइ भोगिरहेका छन् । भिरालो र जीर्ण सडकका कारण सदरमुकाम नजिक हुँदा पनि ढुवानी जोखिमपूर्ण हुने गरेको व्यवसायी लेखबहादुर थापाले बताए ।
उनका अनुसार हाल दैनिक पाँच वटा गाडीमा सुन्तला काठमाडौँ, चितवन, पोखरा लगायतका बजारमा पठाइन्छ । उनले भने, “सडक एकैछिनमा बिग्रिन्छ, ढुंगामाटो खस्ने जोखिम छ। कुनैपनि बेला दुर्घटना हुनसक्ने अवस्थामा हामी फल बजार पठाइरहेका छौँ ।”
सडक समस्याका कारण कतिपय व्यापारीले ढुवानी कठिन भएको गुनासो गरे पनि गाउँमा ठेकेदार नै पुग्ने परिपाटी बसेकाले बिक्री भने सहज हुने गरेको स्थानीय किसानहरूको भनाइ छ ।
उत्पादनमा रोगको असर
यस वर्ष धेरै बोटमा रोग देखिएको र उत्पादन केही घटेको किसानहरूको गुनासो छ । कोटगाउँका कृषक दीपक थापाले पुराना तथा रोगग्रस्त बिरुवा फेरेर नयाँ बिरुवा लगाउने योजना बनाइरहेको बताए ।
तनहुँ सुन्तला तथा अमिलाजातका फलफूलको खेतीका लागि उपयुक्त हावापानी रहेको बताइन्छ। हावापानी उपयुक्त भएका ठाउँका किसानहरुले व्यवसायीक रुपमा सुन्तला खेती गर्न तर्फ अग्रसर भएपनि गुणस्तरीय विरुवा तथा आवश्यकतानुसार रोगकिराको औषधी, उपचार तथा प्राविधिक ज्ञान नपाउँदा उत्पादनमा गुणस्तरीयता ल्याउन सकेका छैनन् ।
प्रत्येक घरमा सुन्तलाका बोट
बेनीकोट सुन्तला उत्पादनका लागि जिल्लामै परिचित बस्ती हो । यहाँ एक घरमा न्यूनतम २० देखि अधिकतम ८०० बोटसम्म सुन्तला लगाएका छन् । धान भित्र्याउने समयसँगै मंसिरमा सुन्तलाको व्यापार चरममा पुग्ने भएकाले किसानहरू अहिले खेतीभन्दा बढी पहेलपुर भएर पाकेको फल टिप्न र बेच्न व्यस्थ हुँदै आएका छन् ।
बेनीकोटका किसानले सुगम सडक, ढुवानी सहजता र उचित बजार व्यवस्थापन भए उत्पादन तथा आय अझ बढ्न सक्ने बताउने गरेका छन् । यस तर्फ स्थानीय सरकार तथा अन्य विषयगत र सरोकारवाला निकायले ध्यान पु¥याउनुपर्ने स्थानीय कृषकहरु बताउँछन् ।










