मुग्लिङ–पोखरा सडक विस्तार : सहज बन्दै राजमार्गको यात्रा

पूर्वी खण्डको ७७.७ र पश्चिम खण्डको ४२.४३ प्रतिशत भौतिक प्रगति

पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदै गएको छ । सडक विस्तारले गति लिएसंगै पोखरा आउजाउ सहज हुन थालेको छ । यही अघि सात÷आठ घण्टा लाग्ने यो सडक छिचोल्न अचेल दुई घण्टा हाराहारी लाग्छ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ ।

पृथ्वी राजमार्गमा पर्ने ८१ किमी सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको गरिएको हो । यो सडक अहिले पूर्वी खण्डमा तीन किमी र पश्चिम खण्डमा १० किमीबाहेक अन्यत्र करिब एकतर्फी कालोपत्रे भइसकेको छ । पूर्वी खण्डको भौतिक प्रगति ७७.७ र पश्चिम खण्डको भौतिक प्रगति ४२.४३ प्रतिशत छ । पश्चिम खण्डको काममा ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको छ । जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा चार लेनको १८ मिटर चौडा सडक १२ किमी, चार लेनको २३ किमी चौडा सडक ८.५ किमी र छ लेनको ४६ मिटर सडक १८.३ किमी बनाइँदै छ । यो खण्डमा चार ठुला र आठ साना पुल छन् ।

पश्चिम खण्ड निर्माणको सम्झौता २०७८ जेठमा भए पनि काम तीन महिनापछि मात्र सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको छ । गएको भदौ १२ मा पहिलो पटक म्याद सकिएकोमा दुई पटक थप भई ३१ डिसेम्बर २०२५ सम्म म्याद थपिएको छ । यो खण्डमा सेती नदीमा १९० मिटरका दुई लेनका दुई पुल बन्दै छन् । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले एक अर्ब सात करोड २४ लाखमा पुल निर्माण गरिरहेको छ । २०२५ डिसेम्बर ६ सम्म सक्नुपर्ने पुलको भौतिक प्रगति ४० प्रतिशत छ ।

पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सौजन्य नेपाल पछिल्लो समय कामले गति लिएको बताए । राजमार्ग विस्तारमा ढिलाइ हुँदा पोखराको आर्थिक गतिविधिसहित गण्डकी प्रदेशमै प्रभाव पर्ने परेको छ । पछिल्लो समय सडक सहज हुँदै जाँदा यहाँको विकास र समृद्धि हुने कुरामा आशा जागेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । अरू क्षेत्रमा बाटो विस्तार तीव्र गतिमा भए पनि पोखरा महानगर क्षेत्रमा भने ढिलो गरी काम सुरु भएको थियो । तनहुँको कोत्रेदेखि पृथ्वीचोकसम्म करिब २० किमी राजमार्ग पोखरा महानगरमा पर्छ । महानगर क्षेत्रमा अहिले काम जारी छ । अध्यक्ष केसी महानगर क्षेत्रमै सडक विस्तार ढिलो हुँदा सकस भएको बताए । महानगरभित्र खानेपानीका पाइप व्यवस्थापन, बिजुली पोल व्यवस्थापन, मापदण्डका संरचना हटाउन ढिलाइ हुँदा काम ढिलो भएको हो । खानेपानी, बिजुली र भौतिक संरचनाको अवरोध हटेको र निर्माण व्यवसायीले पूर्ण क्षमतमा काम गरिरहेकाले आगामी वर्षभित्रै काम सकिने आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेल बताए ।

यस्तै, योजनाको पूर्वी खण्डको काम पछिल्लो क्रममा धमाधम भइरहेको छ । यो खण्डको भौतिक प्रगति ७७.७ प्रतिशत छ । यो माघ महिनासम्मको प्रगति हो । पूर्वी खण्डमा ३४.५ किलोमिटरमा चार लेन र ३.१ किमीमा दुई लेनमा प्रथम तहको कोलोपत्रे भइसकेको छ । पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले १५.५ किमीमा चार लेन र १२.७३ किमी दुई लेनमा दोस्रो तहको कालोपत्रे सकिएको जानकारी दिए । पूर्वी खण्ड ४१.४५ किमी छ । दमौली बजार क्षेत्रबाहेक अन्यत्र एकतर्फी कालोपत्रे हुन बाँकी छैन । पाण्डेले भने, “यही आर्थिक वर्षभित्र पूर्वी खण्डको काम सकिने देखिन्छ ।”

यो खण्डमा बन्ने १७ पुलमध्ये १६ पुल बनिसकेका छन् । नालामा एउटा पुलको काम जारी छ । मादी पुल भने छुट्टै ठेक्कामा लगाइएको हो । यसको भौतिक प्रगति ६० प्रतिशत छ । २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यो खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्दै छ। कम्पनीले छ अर्ब २१ करोड ३१ लाखमा यो खण्डको ठेक्का लिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker