हरितालिका तीज र नारी अधिकार

कालिका खड्का

“माइतबाट लिन आउँदा खुशी भइन्थ्यो,
पिँजडाको चरी फुत्केसरी भइन्थ्यो”

विवि अनुरागीको संगीत र पवित्रा रसाइलीको स्वरमा यो गीतले भनेझैँ तीज पर्व वर्षभरि सासु, सुसुरा, पति, नन्द, आमाजुका खटनमा गर्नुपर्ने कामका बोझहरुलाई थपक्कै बिसाएर स्वतन्त्र भइ माइती जान पाइने अवस्थालाई सम्झाएको छ । यसरी माइती गएपछि आफ्ना साथी संगीहरुसँग रमाइलो गर्ने त छँदैछ ।

विवाहपछि बुहारीले कर्म घरबाट भोगेका पीडा, नमिठा पलहरुलाई गीतमार्फत निर्धक्क अभिव्यक्ति दिएर गाउने अर्थात् पीडा बिर्र्साएर खुशी हुने पर्व हो तीज । यो पर्वमा महिलाले व्यक्तिगत आफ्ना पीडालाई गीतमा ढालेर प्रस्तुत गर्दछन् । आफूलाई खुशी एवं स्वतन्त्र भएको महसुस गर्दछन् । आफूलाई घरमा गरिएको अन्यायपूर्ण व्यवहारको यथार्थ चित्रण गीतमार्फत प्रस्तुत गर्ने तीजको सुन्दर पक्ष पनि हो । यसरी गीत गाएर मनाउने गरिन्थ्यो पहिले तीज ।

“हाम्रा पालामा माइत जान नदिने, बिहानदेखि बेलुकासम्म घरको काम, भनेको बेला खाना नपाउने समय थियो” भक्तपुर निवासी ६५ वर्षीय दुर्गा पाठकले आफ्नो पालाको तीजको सम्झना गर्दै भन्नुभयो, “आमा बुबालाई भेट्न, माइत जान पनि तीज नै आउनुपथ्र्यो, कि बाबु आमा बिरामी हुनुपथ्र्यो, त्यही पनि तीजमा माइती लिन नआए जान पनि पाइदैनथ्यो।”

दुर्गालाई आजभन्दा चार÷पाँच दशकअघि छोरी र बुहारीप्रति ठूलो विभेद भएको अनुभव छ । “छोरीलाई माया गर्ने, अलिकति केही ल्याएपनि फुरुक्क पर्ने तर बुहारीले दिनरात घोटिए पनि काम नदेख्ने समय थियो”–उहाँले थप्नुभयो,–“तीज नै यस्तो दिन थियो, माइतीमा गएर मीठो खाएर मनभरीका पीडा गीत गाएर मेट्ने गरिन्थ्यो ।”

पहिले महिलाले पाउने दुःख र पीडा अहिले भने फेरिएको छ । उ समयमा महिलाले आफ्ना समस्या, पीडा पोख्ने पर्वका रुपमा लिन्थे भने अहिले त्यस्तो छैन । तीजलाई आफ्नो अधिकारका लागि प्रयोग गर्ने र अन्यायको चर्को विरोध गर्ने महिलाहरु अहिले नेतृत्व गर्ने तहमा पुगिसकेका छन् । त्यसका कारण पनि तीज पर्वको महत्व पहिले जत्तिको नारी अधिकारका क्षेत्रमा अहिले छैन भन्न सकिन्छ ।

“पहिला खान, लाउन नपाउँदा, पढ्न नपाउँदाको पीडा पोख्ने महिलाहरु अहिले स्वतन्त्रता र सशक्तीकरणका आवाज उठाउन थाले” धर्म तथा संस्कृतिविद् डा.गोविन्द टण्डनले भन्नुभयो, “छोरालाई मात्र होइन, छोरीलाई पनि पढ्न पठाउनुपर्छ भनेर आवाज उठाउन थाले, विस्तारै महिलाहरु पढ्न थाले, परिणामस्वरुप हरेक क्षेत्रमा महिलाको सहभागिता पनि बढ्न थाल्यो ।”

नेपालमा अहिले महिलामैत्री धेरै कानूनहरु बनेका छन् तर त्यसको कतिपय उपयोग भने प्रभावकारी रुपमा हुन सकेको छैन । “तीजका अवसरमा महिलाका पक्षमा भएका कानून, पढ्नुपर्छ, सीपमूलक तालिम, महिला सशक्तीकरणका गीतहरु गाउन जरुरी छ”– उहाँले थप्नुभयो, “तीजका अवसरमा गीतमात्र होइन, महिलाको उन्नतिका लागि अध्ययन गर्ने, महिलालाई चुलोचौकोमा मात्र सीमित नराखी चौतर्फी काम गर्न सकिन्छ भन्ने सन्देश दिन अरु काम पनि गर्नुपर्छ ।”

गाइजात्रा पर्वको माध्यमबाट विकृति र विसंगतिप्रति प्रहार गरिन्छ त्यस्तै तीज पर्वलाई महिलाको स्वतन्त्रताको उजागर गर्ने दिनका रुपमा मनाइन्छ । तीज पर्व महिला स्वतन्त्रताको पर्व हो । त्यो दिन महिलाले गरेको परिवारप्रतिको टिकाटिप्पणीलाई पनि वास्ता गरिँदैन ।

“सदियौँदेखि महिलाहरु एक प्रकारले बन्धनमा रहे, अरु ठूलो उदाहरण चाहिँदैन, बिहानदेखि बेलुकासम्मको कामबाट मुक्ति नपाउनु नै बन्धन हो”–संस्कृतिविद् टण्डनले थप्नुभयो, “घर, परिवार, बच्चा, बाख्रा वस्तुभाउ भन्दै समय बित्छ, तीज पर्वका एक दिन भए पनि ती सब कामबाट मुक्त पाएर खुशी हुन्छन् र बन्धनमुक्त हुन आवाज दिन्छन्, त्यो ठूलो कुरा हो ।”

नेपालका अधिकांश ग्रामीण भेगमा पहिला यातायातको सुविधा थिएन । निकै लामो समयपछि मात्र महिलाहरु माइत जान पाउँथे । शिक्षाको अवसर थिएन । अहिले महिला सशक्तीकरणको कुरा उठिरहेको छ । त्यो अवस्था हेर्दा अहिले महिलाको अवस्थामा निकै सुधार आएको छ ।

“नेपालमा २००७ सालसम्म तीज संस्कृतिअनुसार भेटघाट, भलाकुसारी गर्ने, महिलाले देशको कुराभन्दा पनि स्वतन्त्रतालाई उपभोग गर्न नपाएको, अवसर नपाएको, परिवारले दैनिक काममा राखेको जस्तो देखिन्छ”–डा टण्डनले भन्नुभयो, “२०३६÷०३७ सालपछि तीजको भाका फेरियो, देशभर नयाँ उचाई लियो, तीजमा पनि राजनीति घुस्न थाल्यो, राजनीतिक आदर्श घुसाउनका लागि पनि तीजको प्रयोग गरियो, त्यसले समाजमा उथलपुथल ल्यायो ।”

समाजमा शान्तपूर्वक दुःख/सुख गरेर सुषुप्त रुपमा बसेका महिलालाई तीजका गीतले उथलपुथल बनायो । जागरण गराउने खालका गीत सुनेर चुलोचौकाबाट महिलाहरु बाहिर निस्कन थाले । नेपाली नारीको अधिकारका लागि महिलाको तीखो आवाजले विस्तारै उचाई लिएको छ ।

देशमा लामो समय छोरी र बुहारीबीच, महिला र पुरुषबीचको भेदभाव चल्यो । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख जस्तो देशकै उच्च ओहदामा महिलाको सक्षम नेतृत्व हुँदा पनि महिलाप्रतिको दृष्टिकोण अझै पूर्णरुपमा सुधार आउन नसकेको गुनासो सुनिन्छ । समाजमा अहिले पनि पृतिसतात्मक सोचले काम गरेको छ । तर संविधान र कानूनले भने महिलालाई पुरुष, छोराछोरी, वंशीय अधिकारमा विभेद गरेको देखिदैन ।

“तीज पर्वलाई महिला स्वतन्त्रताका दिवसका रुपमा मनाउनुपर्छ, महिलामाथि हुने हिंसा न्यूनीकरण गर्ने विषय, महिला शिक्षाका बारेमा आवाज उठाउने दिनका रुपमा मनाउनुपर्छ”–अधिवक्ता मीरा ढुङ्गानाले भन्नुभयो, “पुरुषको अनुभवका आधारमा महिलासम्बन्धी कानून बनिरहेका छन्, के महिलाको भोगाई र पुरुषको भोगाई एउटै छ ? यस्ता पर्वमा यी कुराहरु उठाउन जरुरी छ ।”

तीज पर्वका अवसरमा महिलाहरु खुलेर स्वतन्त्र रुपमा आफ्नो पीडा व्यक्त गर्दछन् । आफूलाई अरु कुराभन्दा पनि आफूलाई भोगेका पीडा दुःख व्यक्त गर्ने गरेका छन् । “तीज महिलालाई आफ्नो कुरा राख्ने स्वतन्त्रता दिवस हो भन्ने मलाई लाग्छ”–अधिवक्ता ढुङ्गगानाले थप्नुभयो, “तीजमा निरहार व्रत बस्ने चलन बिस्तारै हटाउनुपर्छ, स्वास्थ्य राम्रो भएमा एक दिन व्रत बस्नु राम्रो हो तर निरहार ब्रत बसेर पतिको आयु बढ्ने भ्रम तोड्नुपर्छ ।”

अहिलेको नेपाली समाजमा आएर तीज पर्व एउटा पीडाको आवाज उठाउने दिनका रुपमा मात्र रहेन । यसमा धार्मिक, सांस्कृतिक, सामाजिक र व्यापारिक पक्ष पनि जोड्एिका छन् ।

“तीज पर्व पहिला धार्मिकरुपमा मनाउन थालिएको भए पनि अहिले यसका चार पक्षहरु छन्”– वाल्मिीकी विद्यापीठका सहप्रध्यापक डा प्रियम्बदा काफ्लेले भन्नुभयो,“अहिले तीज पर्व गहना र ब्रत प्रदर्शन गर्ने, अनि दिदीबहिनी जम्मा भएर दर खानेभन्दा पनि होटल, रेष्टुरा, पार्टी प्यालेसमा गएर लामो समय दर खाने विकृति देखापरेका छन् ।”

समयसँगै तीज पर्वमा धार्मिक र सामाजिक यथार्थभन्दा बाहिर गएर केही विकृति पनि देखिएको छ । यस्ता विकृतिलाई महिलाहरुले रोक्नुपर्छ । “म सानो हुँदा तीजको गीत सुनेको थिएँ, भाइलाई मात्र पढ्न पठाए, मलाई पढाएनन्, मैले दुःख पाए”–सहप्राध्यापक डा काफ्लेले थप्नुभयो, “तर अहिले त्यो अवस्था छैन, छोरीले पनि अवसर पाएका छन् ।”

उहाँलाई पतिपत्नी दुवैको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने लाग्छ । “शास्त्रमा पतिपत्नी मिलेर ब्रत गर्नुपर्छ भन्ने छ, दुवैले व्रत गर्दा राम्रो हुन्छ”–उहाँले जोड्नुभयो, “शिव र पार्वतीको जस्तो दाम्पत्य जीवन सुमधुर होस्, एक अर्कालाई पीडा नपरोस् भनेर व्रत बस्ने गरिन्छ ।”

भाद्र शुक्ल तृतीयाका दिन मनाउने तीज पर्व महादेवले पार्वतीलाई गरेको जस्तै प्रेम मलाई पनि गरोस् भनेर महिलाले ब्रत बस्ने गरेको पाइन्छ । पुरुषले पनि राम्रो स्त्री पाउनका लागि व्रत बस्नु राम्रो हुन्छ ।

स्कन्द पुराणअन्तर्गत श्रीस्वस्थानी व्रत कथाअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवको तपस्या गरेको र पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आर्शिवाद दिएको उल्लेख छ । शिव र पार्वतीको विवाह भएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिलाई हिन्दू नारीले तीजका रुपमा मनाउने गरेको पाइन्छ ।

धार्मिक रुपमा यस तरिकाले तीज शुरु भएता पनि सांस्कृतिक रुपमा महिलाले आफूले भोगेको दुःख, पीडा र बन्धनबाट मुक्त पाउने आफ्नो अधिकारका लागि आवाज उठाउने दिनका रुपमा यसलाई मनाउने गरेको देखिन्छ । तीजमा व्यक्त गर्ने भाका हिजो र आज फरक होलान् तर कुरा अहिले पनि तीज गीतमा अधिकारकै आवाज छन् । चुलाचौकाबाट महिलालाई मुक्त गर्नुपर्ने खालकै छन् । विष्णु माझीको भर्खरै बजारमा आएको गीतले पनि यो कुरालाई पुष्टि गर्न खोजेको छ–
“चरी जेलैमा,
मै छोरी रुँदैरुँदै बेसी मेलैमा”  रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker