व्यासमा आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि, वडा सचिव र प्राविधिकहरुलाई आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ । कायक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले प्रशिक्षण कार्यक्रमले नगरवासीको सेवामा पुर्याउने योजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने बताए।
उनले प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधि, वडा सचिव र प्राविधिकहरु समेत शिक्षित हुने बताए। उनले भने, ‘यस्ता कार्यक्रमले योजना तर्जुमादेखि योजना सम्पन्नसम्म हरेक कुरामा शिक्षित गराउने छ, जसले गर्दा योजना सम्पन्न गर्दा कतैपनि कुनै क्रुटी हुनेछैन ।’
उनले योजना तर्जुमादेखि सञ्चालन गर्दा सबैले हरेक कुरामा विशेष ख्याल राख्नुपर्ने समेत बताए। योजना समयमा नै सम्पन्न गर्ने वडालाई पुरस्कृत समेत गरिने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख एवं योजना अनुगमन समिति संयोजक इन्दिरा दरैले वडाहरुले योजना सम्पन्न भएको समयमा मात्र नभएर निर्माण कार्य जारी रहँदा पनि अनुगमन समितिलाई बोलाउनु पर्ने बताईन् ।
प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले यस्ता कार्यक्रमले कागजातका कारण देखिने बेरुजुलाई न्युनिकरण गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा वरिष्ठ आन्तरिक लेखा परिक्षक प्रमुख कुमारकञ्चन जि.सीले बेरुजु सम्बन्धी विषयवस्तुमा प्रस्तुतिकरण राखेका थिए भने लेखा प्रमुख हेमन्त गुरुङले योजना भुक्तानी तथा बिलरभाई, करकटी सम्बन्धी र योजना कार्यान्वयन तथा अनुगमन उपशाखा प्रमुख भेषराज तिवारीले उपभोक्ता समिति गठन, संचालन, व्यवस्थापन साथै कार्यान्वयन सम्बन्धी कानुनी व्यवस्था बारेमा प्रस्तुतिकरण गरेका थिए ।










