नारेश्वर ताल निर्माणका लागि एक करोड ३७ लाख मुआब्जा वितरण
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले नारेश्वर ताल निर्माणका लागि जग्गाधनीहरुलाई मुआब्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं. १० स्थित दुम्सीचौर क्षेत्रमा निर्माण गर्ने तयारी गरेको नारेश्वर तालका लागि स्थानीयसँग एक करोड ३७ लाख ८६ हजार रुपैयाँमा जमिन खरिद गरेको छ ।
स्थानीयका तर्फबाट नगरपालिकाले बुझाएको लाभ करसहित यो रकम एक करोड ४२ लाख पुगेको बताइएको छ । २६ कित्तामा रहेको २४ रोपनी ११ आना एक पैसा जग्गा व्यास नगरपालिकाको नाममा आएको छ भने ऐलानी ५० सहित झण्डै ७५ रोपनी क्षेत्रफल जग्गामा ताल निर्माण गर्ने नगरपालिकाले तायरी गरेको छ ।
करिब चार करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको तालका लागि गण्डकी प्रदेश सरकारले बाँध बाँध्न एक करोड १५ लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारबाट प्राप्त हुने रकमलाई नगरपालिकाले बाँध बनाउने काममा खर्चने नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए ।
नगरपालिकाले आइतबार एक कार्यक्रम आयोजना गरी लालपूर्जा ग्रहण गर्दै नगर प्रमुख न्यौपानेले पर्यटकीय विकासका लागि ताल उपयोगी हुने र ताल क्षेत्रमा नगरपालिकाले दुम्सीको सालिक पनि बनाउने योजना बनाएको बताए । नगरपालिकाले पर्यटकीय पूर्वाधारमा स्थानीयलाई सघाउने र भावी दिनमा निजी क्षेत्रलाई समेत तालमा उपयोग गर्ने नीति बनाउने नगरप्रमुख न्यौपानले बताए । यस्तै, व्यास-१० का वडाध्यक्ष तुलसीराम सापकोटाले स्थानीयले नै बनाउने भने पनि सम्भव नभएकाले नगरपालिकालाई हस्तान्तरण गरिएको बताए । सापकोटाले अब ताल तथा अरु संरचनाले प्रशस्त पर्यटक आउने र स्थानीयलाई यही रोजगारीको वातावरण सृजना हुने विश्वास व्यक्त गरे ।










