दमौलीमा खुल्ला व्यायामशाला सञ्चालन
दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित सेतीमादी सामुदायिक वन परिसरमा खुल्ला व्यायामशाला निर्माण गरी संचालनमा ल्याइएको छ । वडा नं ३ को कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा बिनियोजित १३ लाख रुपैयाँको बजेटबाट व्यायशाला निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
व्यायामशाला संचालनमा ल्याएसंगै स्थानीयले नियमित व्यायामका लागि पुग्ने गरेका छन्। स्थानीय नन्द बहादुर थापाको सभापतित्वमा आयोजित व्यायामशाला शुभारम्भ कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरै, जिसस निवर्तमान उपप्रमुख पवित्रा पौडेल, तनहुँ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ लगायतकाले मानव जीवनका लागि व्यायामशाला अपरिहार्य रहेको र वडा कार्यालयको यस कार्यले स्वास्थ्य जीवन जिउनका लागि मद्दतपुग्ने विश्वास व्यक्त गरेका थिए ।
यस्तै, व्यास–३ का वडाध्यक्ष अनुप राना, व्यास–९ का वडाध्यक्ष एवं खेलकूद समिति संयोजक सुरेश थापा, पुल्चोक आमा समुहकी अध्यक्ष शिवा गिरी, देउराली टोल अध्यक्ष मानबहादुर थापा, सेतीमादी वन उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर थापा, देउराली नगर सिकाई केन्द्रका अध्यक्ष बाबुराम बगाले लगायतले व्यायामशालाको बारेमा आ–आफ्ना भनाई राखेका थिए । सो अवसरमा व्यायामशाला क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो ।