नेपाली सेनाले गोरखा–जितगढी एकीकरण पदयात्रा गर्ने

दमौली : तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने ध्येयले गोरखा–जितगढी एकीकरण पदयात्रा आयोजना हुने भएको छ ।
नेपाली सेनाले यही चैत २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म पदयात्रा सञ्चालन गर्दैछ । पदयात्रालाई सफल बनाउने तनहुँका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । नेपाली सेनाको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले यहाँ आयोजना गरेको बैठकमा उक्त पदयात्रालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।
व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रा ऐतिहासिक भएकाले स्थानीयको पनि साथ, सहयोग र सहकार्य हुन जरुरी रहेको भन्दै नेपालको ऐतिहासिक विषयवस्तु नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकामा जोड दिए ।
गोरखाबाट चैत २८ गते देखि सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । गोरखाबाट सुरु भएको पदयात्रा साँझ तनहुँको ऐतिहासिकस्थल सतिघाट हुँदै भानु नगरपालिका–१ भन्सार ग्रीनपार्क आइपुग्ने र त्यहाँ स्थानीयको सहभागितामा स्वागतको कार्यक्रम गरिने भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ऐतिहासिक पदयात्रामा स्वागत र साथ दिन जिल्लावासीलाई अनुरोध गरे । पदयात्राले नेपालको इतिहास बोकेको हुँदा सबै नेपालीले गौरव गर्नुपर्ने बताए ।
गोरखा दरबारबाट चैत २८ गते सुरु हुने पदयात्रा सोही दिन ३५ किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाट हुँदै भन्सारसम्म आइपुग्नेछ । गोरखाको रिपुमर्दन गणले भन्सारबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ ।
भन्सारबाट २९ गते प्रस्थान गर्ने टोली तनहुँकै भिमसेन गढी हुँदै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ। तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ ।
तनहुँसुर आएर उक्त पद यात्राको झण्डा कालीभञ्जन गण (ई) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ ।
धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुडदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको कालीभञ्जन गण (ई) गण दमौलीका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिए ।
पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाईंमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ। गोरखादेखि जितगढीसम्मको दूरी ३०५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker