तनहुँमा निर्वाचन अधिकृत तोकिए
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको १० वटै पालिकामा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले जिल्लाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना तोकिएका भने अन्य नौ स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार आँबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापा निर्वाचन अधिकृत तोकिएका छन् ।
यस्तै, बन्दिपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल, भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधीवक्ता रामचन्द्र शर्मा, म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझी र भानु नगरपालिकामा तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवर निर्वाचन अधिकृत तोकिएका छन् ।










