प्रथम दमौली पाटन महोत्सवमा राइ र भुटियाले दर्शक नचाए
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-५ पाटनमा जारी प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको चौथो दिन गायक धिराज राइ र छिरिङ भुटियासँग दर्शकहरु नाँचेका छन । राइ र भुटिया मन्चमा पुग्दा दर्शकहरु निकै हौसिएका थिए । उनीहरुले चर्चित गीतहरु गाएर दर्शकलाई नचाएका थिए । राइ र भुटियासँगै सजना बास्तोला, अनुराग थापाले पनि आफ्ना चर्चित गीतहरु गाएका थिए ।
पाटन युवा क्लबका अध्यक्ष अमर थापाले चौथो दिन पनि दर्शकको आकर्षण उल्लेखनीय रहेको बताए । तीन हजार दर्शकले महोत्सवको अवलोकन गरेको उनले बताए । न्यानो कपडा, होटल, जुत्ता र खानाका स्टलहरुमा दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएका छन् ।
२ हजार ५ सय भन्दा बढी व्यक्तिहरुले मादी नदी डुंगामा वारपार गरेको महोत्सवका संयोजक पवन चुमी थापा मगरले बताए । महोत्सव स्थलमा वैदेशिक रोजगार विभागले परामर्श सेवा समेत दिएको छ । सामी परियोजना अन्तर्गत वैदेशिक रोजगारमा जानेहरुका लागि परामर्श दिने काम भइरहेको हो । सिटी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए ।
यस्तै महोत्सवको पाँचौ दिने आज कलाकार एलिना चौहानको सांगितक प्रस्तुती रहने बताइएको छ । गायिका चौहानसँगै पोखराका गायककार कृष्ण सुवेदीले समेत दर्शकलाई भरपुर मनोरञ्जन दिने पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए । उनीहरुको साथमा स्थानीय कलाकार संजीवसिह राना लगायतको प्रस्तुति रहेने बताइएको छ ।










