तनहुँमा तीन महिला र एक पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि

भञ्ज्याङ समाचारदाता, दमौली
तनहुँमा चार जना नयाँ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा ३ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
सार्वजनिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास नगरपालिका-३ का २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी कन्ट्याक ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन ।
त्यस्तै, बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास नगरपालिका-२ की ७० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सोही अस्पतालको आईसोलेसनमा उपचाररत रहेको बताइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास नगरपालिका-१ की ३० वर्षीया महिला र चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा देवघाट गाउँपालिका-५ की ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।









