तनहुँको व्यासमा घरनक्शाको काम अब अनलाइनबाट
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले घरनक्शा पासको सम्पूर्णकाम अनलाइनबाट गर्ने भएको छ । नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेसंगै घरनक्शाको काम अनलाइनबाट गर्ने तयारी गरेको हो । घरनक्शा शाखा प्रमुख इञ्जिनीयर अमृत केसीका अनुसार भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)ले घरनक्शा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको थियो ।
नगरपालिकाले विसं २०४९ देखि घरनक्शा पासको काम गर्दै आएकामा पहिलो पटक अनलाइनबाट शुभारम्भ गरेको उनले बताए । ‘एक वर्षम्म डिजिटल र हार्डकपी दुवैबाट काम गर्र्छौ र त्यसपछि सम्पूर्ण काम अनलाइनबाट मात्र हुन्छ’, उनले भने, ‘त्यसबीचमा सबै तथ्याङ्क डिजिटलीकरण गर्र्छौ । व्यास नगरपालिकाभित्र आठ हजार ५०० घर नक्शापास गरेर निर्माण गरिएको छ ।’
नगरपालिकामा प्रत्येक वर्ष भवन निर्माणका काम वृद्धि भइरहेका छन् । घरधनी भवन निर्माण गर्न अनुमति प्रक्रियाका लागि पटक-पटक नगरपालिकाको कार्यालयमा जानुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइनबाटै अनुमति प्रक्रियाको काम शुभारम्भ गरिएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म यहाँ निर्माण गरिएको भवनको डिजिटल डाटावेशको कुनै संयन्त्र छैन, अर्कोतर्फभवन निर्माणको अनुगमन र भविष्यको योजनाका लागि भवनको तथ्याङ्क राख्ने व्यवस्था भएको छैन ।’
नगरपालिकाका लागि प्रभावकारी र सहजरूपमा नक्शा पास प्रक्रिया प्रणालीको विकास गर्न जरुरी देखिएकाले घरनक्शाको माध्यमद्वारा घरधनीलाई सहज प्रणाली, ग्राहक सेवा वृद्धि र भवन निर्माणको तथ्याङ्क सुरक्षित भण्डारणको अवधारणा ल्याइएको हो ।
अनलाइनबाट भवन निर्माण अनुमति आवेदनको व्यवस्थापन, नक्सापास प्रक्रिया कागजातहरूको सहज भण्डारण, नक्सापास प्रक्रियाको सहज अनुगमन, भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानहरूको अनुपालन जाँचमा सहजता आउने विश्वास लिइएको छ । व्यास डट घरनक्सा नेपाल डटकमबाट यसको सेवा लिन सकिन्छ ।
समाज नेपालका इन्जिनियर सन्तोष खड्काका अनुसार अनलाइनबाट घरधनीले नक्सापासको प्रक्रियाका बारेमा सहजै जानकारी पाउनेछन् । ‘घरधनीले आफ्नो कामको प्रगति कहाँसम्म पुगेको छ भन्ने बारेमा पनि यही अनलाइनबाट जानकारी लिन सक्छन्’, उनले भने, ‘सम्बन्धित व्यक्तिको विवरण हालेपछि समग्र जानकारी आउँछ।’
घरनक्साको अनलाइन सेवाको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले लामो प्रक्रियाका कारण सेवाग्राहीले सास्ती भोग्दै आएकामा अब अनलाइनबाट काम हुने भएपछि सहज रूपमा सेवा लिन पाउने विश्वास व्यक्त गरे । उनले व्यास नगरपालिकाले राजश्व संकलनको काम पनि अब अनलाइनबाट गर्न सुझाव दिएका छन् ।
यस्तै, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहीमैत्री नगरपालिका बनाउने सोचका साथ घरनक्साको काम अनलाइनबाट शुरु गरिएको बताए।










