तनहुँको आँबुखैरेनीमा चितुवाको आक्रमणबाट बालिका घाइते
घरको आँगनमा खेलिरहेको समयमा चितुवाले आक्रमण गर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा एक बालिका घाइते भएकी छन् ।
चितुवाको आक्रमण परी स्थानीय प्रेम गौलीको छोरी छ वर्षीया प्रनिशा गौली घाइते भएकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितुवाले आक्रमण गरी घरदेखि अन्दाजी दश मिटर पर लगेको अवस्थमा बाबुले थाहा पाई तत्कालै उद्धार गरेका थिए ।
घाइते बालिकालाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र सत्रसय लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।










