बन्दीपुर गाउँपालिकाले ८ जना कर्मचारीको करार सम्झौता गरेन

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले करारमा नियुक्त भएका ८ जना कर्मचारीको करार सम्झौताको म्याद थप नगर्ने भएको छ । गाउँ कार्यपालिकाको गत सोमबार बसेको बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट तलबभत्ता भुक्तान गरिने गाउँपालिका र वडा कार्यालयहरूमा दरवन्दीभन्दा बाहिर रहेका ८ जना करार कर्मचारीहरूको करार सम्झौतामा म्याद थप नगर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले भाद्र मसान्तबाटै लागु हुने गरी उक्त निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी गराए । उनका अनुसार करारबाट पदपूर्ति गर्न नमिल्ने पदहरूमा करारबाट नियुक्ति गरेर तलबभत्ता भुक्तान गर्दा महालेखा परीक्षकको प्रतिवेदनमा अनियमित भएको बारम्बार उल्लेख गरिएकाले कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।
‘कार्यपालिका बैठकको निर्णय अनुसार सहायकस्तर चौथो तहमा कार्यरत ६ जना र कार्यालय सहयोगीका रूपमा २ जना गरी कुल ८ जना कर्मचारीहरूको करार सम्झौता अन्त्य गरेको छ’, अध्यक्ष थापाले भने, ‘यो निर्णय भ्रष्टाचारमा शुन्य सहनशीलता र बेरुजु मुक्त पालिकाको रुपमा गाउँपालिकालाई अगाडि बढाउने उद्देश्यले गरिएको हो । हामीले सम्पूर्ण बन्दीपुरवासीलाई यो निर्णयलाई राजनैतिक पूर्वाग्रहको रूपमा नलिई सुशासन कायम गर्ने र आर्थिक अनियमितता अन्त्य गर्ने पारदर्शी कदमको रूपमा हेर्न अनुरोध गर्दछौ ।’
कार्यपालिकाको यस निर्णयसँगै स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका शाखाहरूमा कार्यरत दरवन्दीभन्दा बाहिरका अन्य पदहरूमा कार्यरत कर्मचारीहरूको सन्दर्भमा पनि कार्यपालिकाबाट निर्णय गरी म्याद थप अन्त्य गरिनेछ र प्रचलित ऐन, कानुन बमोजिम नियुक्तिको प्रक्रिया अघि बढाइने गाउँपाकिले जनाएको छ ।
यस्तै, करार सम्झौता अन्त्य भएका कर्मचारीहरूले सेवामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै अध्यक्ष थापाले धन्यवाद व्यक्त गरेका छन् । यसैगरी, गाउँपालिकाको समृद्धि र विकासका लागि रचनात्मक सल्लाह, सुझाव र सहयोगका लागि सम्पूर्ण बन्दीपुरवासीलाई आग्रह गरेका छन् ।










