व्यास नगरपालिकाद्वारा सम्पादित कार्यक्रमको सार्वजनिक सुनवाई
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले आ.व. २०७९/०८० को तेश्रो चौमासिक तथा वर्षभरीमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा आईतबार सार्वजनिक गरेको छ ।
नगरपालिकाले आइतबार सार्वजनिक सुनवाई गरी २०७९ चैतदेखि २०८० असार मसान्तसम्म नगरपालिकाबाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजिन कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले तेश्रो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएका थिए ।
नगरपालिका तथा वडागत मार्फत सम्पन्न भएका काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको बारेमा नगरप्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले प्रष्ट पारेका थिए ।
नगरपालिका तथा वडा कार्यालयहरुको विचमा नागरिकको सम्बन्ध र सम्बाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट नगरपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेबारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाइको आयोजना गरिएको नगरप्रमुख न्यौपानेले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा नै सार्वजनिक सुनुवाइ गरिएको भन्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाबाट संचालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजानिक गरी त्यस सम्बन्धमा सर्ावजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरी जिम्मेबार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सार्वजानिक सुनुवाइको क्रममा आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुँदा यसको महत्व विशिष्ट रहेको बताए । सार्वजानिक सुनुवाइको माध्यमबाट सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरी नगरपालिकाद्वारा सम्पादन हुने कामलाई अझ नागरिक मैत्री बनाउन सहयोग पुग्ने उनले बताए ।
कार्यक्रममा पूर्वाधार विकास शाखा प्रमुख डा. राजु पौडेल, उद्योग पर्यटन तथा श्रम रोजगार प्रव्रद्धन शाखा प्रमुख राजेन्द्र कार्की, पशु विकास शाखा प्रमुख मनोज विश्वकर्मा, राजश्व शाखा प्रमुख कृष्णराज घिमिरे, घरनक्सा शाखा प्रमुख अमृत के.सी, शिक्षा शाखाका नविन पराजुली, सम्बन्धित शाखाबाट सम्पादन भएका सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए । साथै कार्यक्रममा नगरवासीहरुले आफनो गुनासो नगरप्रमुख सामु राखेका थिए ।










