तनहुँको म्याग्देमा गण्डकी प्रदेश पालिकास्तरीय फुटबल प्रतियोगिता : उद्घाटन खेलमा शुक्लागण्डकी विजयी

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा गण्डकी प्रदेशको पालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगिताको शुक्रबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गर्दै नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गरेको बताउका छन् ।
खेलकुदको माध्यमबाट गाउँपालिका क्षेत्रको थप पहिचान र प्रवर्द्धन गराउन यो फुटबल प्रतियोगिताले टेवा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगिताको शुभारम्भमा म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडाअध्यक्ष तथा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले म्याग्दे गाउँपालिकाले अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रको बिकासको लागि समेत प्राथमिकता दिएर काम गर्दै आएको चर्चा गरेका थिए ।
म्याग्दे गाउँपालिकाको वडा नं. ५ स्थित छाङ्गपाटनको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिकाले भिमाद नगरपालिकालाई १–० ले अन्तरले पराजित गरेको छ । यस्तै, प्रतियोगितामा शनिवार भानु नगरपालिका र अन्नपूर्ण गाउँपालिका कास्की तथा अर्को खेल व्यास नगरपालिका र देवघाट गाउँपालिका बिच हुने आयोजकले जनाएको छ ।
‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा द्वितीय पुरस्कार एक लाख ५० हजार रुपैयाँ तथा विजेता र उपविजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी गराए ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
यस्तै, जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय सी लेभल व्याडमिन्टन प्रतियोगिता फागुन १६ र १७ गते वडा नम्बर ४ स्थित व्याडमिन्टन कवर्डहलमा सञ्चालन गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५० हजार, द्धितीयलाई नगद ३० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टोलीलाई नगद १०÷१० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।
म्याग्दे गाउँपालिकाले आयोजना गरकेो दोस्रो अध्यक्ष कप–२०८१ को वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता फागुन ८ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका सात वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नं ६ प्रथम भएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ८० हजार रुपैयाँ र द्धितीयलाई ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गनिरे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा खेलकुद प्रतियोगिता सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।










