आज योमरी पुन्हिः : प्रेम र समृद्धिसँग जोडिएको योमरीको कथा

आज योमरी पुन्हिः । विशेषगरी नेवारी समुदायमा चामलको पिठो र चाकुको मिश्रणबाट बनाइने योमरीसँग जोडेर यो पूर्णिमाको दिन नै योमरी पुन्हि नाम राखिएको छ ।

नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकारका रुपमा चिनिने योमरीसँग जोडिएका थुप्रै कथा किंवदन्तीहरू पाइन्छन् । जसमध्ये कुबेरसँग जोडिएको योमरीको कथा विशेष छ ।

रत्नाबदान बुद्ध वचन नामक पुस्तकमा उल्लेख भएको कथाअनुसार पाञ्चाल देश (हालको पनौती)मा एक दानी एवं धर्मात्मा सुचन्द्र महाजन दम्पती बस्थे । एकदिन कुबेरलाई उनको स्वभावको परीक्षा लिन मन लागेछ । कुबेर आफ्नो भेष बदलेर ती दम्पतीको घरमा पुगे । घरमा पुगेपछि दम्पतीले चामलको पिठोबाट तयार पारिएको पौष्टिकता युक्त योमरीले कुवेरको स्वागत गरे । महाजनको स्वागतले सन्तुष्ट भएका कुवेरले धानको भकारीमा योमरीसहित कुवेर र गणेशको बाहनलाई पूजा गर्ने विधि बताएर अन्तर्ध्यान भए ।

कुबेरले सिकाएअनुसार नै दम्पतीले योमरी बनाएर भकारीमा राखेको धानभित्र चार दिनसम्म राखे । चार दिनपछि योमरी निकालेर प्रसादका रूपमा खाए । चार दिनसम्म पूजा गरेपछि केही योमरी र धान–चामल गरिबलाई दान पनि दिए । चौथो दिन आफ्ना छोरीचेलीलाई समेत बोलाएर योमरी खुवाउँदा धनधान्यले भरिपूर्ण भएको र जाडोमा देखिने कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि सोही समयदेखि योमरीलाई धान्यदेवीको रूपमा पूजा गर्न थालियो भन्ने मान्यता रहेको संस्कृतिविद्हरू बताउँछन् ।

योमरीको बारेमा यसबाहेक पनि अनेकौं किंवदन्ती र कथा जोडिएको पाइन्छ । योमरी पहिलो पटक नेवाःहरूले नै बनाएका थिए । परापूर्वकालमा काठमाडौंको मुख्य खाद्यबालीको रूपमा चामल थियो । काठमाडौंकै एक दम्पतीले आफूले उत्पादन गरेको अन्न प्रयोग गरेर योमरी बनाउने निर्णय गरे ।

जाडो मौसम थियो । शरीरलाई तातो बनाउनका लागि चाकु पनि त्यसमा राखियो । समुदायका लागि छुट्याएको एक भाग अन्न र योमरी ती दम्पतीले आफ्ना छिमेकीलाई पनि दिए । यसैबाट योमरी बनाएपछि छिमेकीलाई बाँड्ने चलन चल्यो । यसरी योमरी माग्ने र बाँडेर खाने चलनको विकास हुँदै गयो भन्ने अर्को विश्वास छ ।

देवीदेवतालाई समेत योमरी चढाउने चलन छ । योमरीबाट राम्रो अन्न उत्पादन र समृद्धिका लागि धान्यदेवीको आराधना गर्ने परम्परा रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

योमरीलाई किशोरावस्थाको प्रेमिल भनाइसँग पनि जोड्ने गरिन्छ । संस्कृतिविद् विनोदराज शर्माका अनुसार नेवारी भाषामा एउटा किंवदन्ती छ । ‘यःमरि च्वामु, उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी’ अर्थात् चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ ! यो गीत पहिले-पहिले भक्तपुर क्षेत्रमा गाउने गरेको योमरी पुन्हीको विशेष गीत हो । यो किशोरावस्थाको प्रेमसम्बन्धसँग जोडिएको छ ।

संस्कृतिविद् शर्माका अनुसार पहिले–पहिले योमरी बनाउने घरमा योमरी माग्नका लागि युवायुवतीहरूको भीड लाग्थ्यो । माथि उल्लेखित गीतमा भनिएजस्तै तरुनी हुने ध्यानमा योमरी दिन बाहिर निस्कँदा धेरै किशोर–किशोरीहरूको प्रेमसमेत बस्ने गरेको उनी सुनाउँछन् । धेरैको दाम्पत्य जीवन योमरीबाटै जोडिएको छ, कतिको सामाजिक सद्भाव कायम भएको छ । योमरी देख्दा सामान्य किसिमको एउटा खाद्य परिकार भएपनि यसको ऐतिहासिक एवं सांस्कृतिक महत्व छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker