ल्हुम्बास-ढाकार्दी मोटरमार्ग छिट्टै निर्माण सम्पन्न गर्ने भिमाद र घिरिङका प्रमुखको प्रतिबद्धता

भञ्ज्याङ समाचारदाता
तनहुँको भिमाद नगरपालिका-५ ल्हुम्बास र घिरिङ गाउँपालिका-५ को ढाकार्दी जोड्ने ल्हुमबास-ढाकार्दी मोटर मार्ग छिट्टै निर्माण सम्पन्न गरिने भएको छ।
भिमाद र घिरिङको सिमानाका रुपमा रहेको साविक साभुङ्ग भगवतिपुर गाबिस-२ को ल्हुमबासमा करिब एक किलोमिटर मोटर मार्ग निर्माण हुन बाँकी रहेको छ ।
उक्त मोटर मार्गको भिमाद नगरपालिका नगरप्रमुख मेख बहादुर थापा र घिरिङ गाउँपालिकाका अध्यक्ष रन बहादुर रानाले संयुक्त रुपमा अनुगमन गरी निर्माण हुन बाँकी सडक खण्ड चाडैन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
दुइ पालिका जोड्ने सिमानाको उक्त मोटरमार्ग निर्माण नगरिदा स्थानीयले समस्या झेल्दै आएका छन् । दुबै पालिकाका प्रमुखहरुको उपस्थिति र दुबै पालिकाका प्राबिधिक टोलीले संयुक्त रुपमा उक्त क्षेत्रको अध्ययन अवलोकन गरी पालिकाको सिमा क्षेत्र जोड्न सडक निर्माण गर्ने कार्य अगाडि बढाउने भएका छन् ।
प्राबिधिकका अनुसार ठूलो चट्टान फोर्नु पर्ने भएकोले सडक खन्नका लागि करिब ८ देखि १० लाख रुपैयाँसम्म बजेट लाग्न सक्ने अनुमान गरिएको छ । उक्त सडक खन्नका लागि दुबै पालिकाले प्रदेश सरकार मार्फ संसदीय कोषको बजेट व्यवस्थापन गरी काम अगाडि बढाउने तयारी गरिएको बताइएको छ ।
ल्हुमबास कृषि उत्पादनका लागि राम्रो क्षेत्र भएको र मोटर बाटो निर्माण गर्न सकिए स्थानीय कृषकले उत्पादन गरेको उपजलाई बजारीकरणमा टेवा पुग्ने भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले विश्वास व्यक्त गरे ।
यहाँका कृषकहरुल सुन्तला, केरा, कोदो, मकै, अदुवा लगायतका खाद्य तथा नगदेबालिको खेती गर्दै आएका छन् । सडकको सहज पहुँच नहुँदा उत्पादित उपज बजारीकरण हुन नसकेको घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।
ल्हुमबास क्षेत्रका बासिन्दाको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकाताको पहुँच विस्तारका लागि भिमाद नगरपालिकाले पनि उचित कदम अगाडि बढाउने नगरप्रमुख थापाले प्रतिवद्धता जनाएका छन्।










