तनहुँमा १९ जना नयाँ संक्रमित थपिए, १ जना वृद्धको मृत्यु

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा बुधबार १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने एक जना वृद्धको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा भानु नगरपालिकामा २, व्यास नगरपालिकामा १४, घिरिङ गाउँपालिकामा १ र ठेगाना नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयले सार्वजनिक गरेको विवरणमा तनहुँका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । व्यास नगरपालिका-४ निवासी ७० वषर्ीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
पोखरा स्थित चरक अस्पतालमा उपचाररत ती वृद्धमा कात्तिक १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ । यीसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । यस अगाडि व्यासमा ६, भिमादमा ३, आँवुखैरेनीमा २, म्याग्देमा १ र शुक्लागण्डकीमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको विवरणमा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ६१७ जना कोरोना मुक्त भई घर फर्किएको तनहुँका स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
तनहुँमा पछिल्लो समय समुदायका नागरिकहरुमा कोरोना संक्रमण देखिन थालेको छ । जिल्लमा हाल २७९ जना सक्रिय संक्रमित रहेका र यी मध्ये १५८ जना होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।










