कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको एक उम्मेदवारबारे छलफल

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गर्नुभयो ।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्थ्यो । संस्थापन इतर समूहका लगभग उहाँहरु सबैले आफूलाई सभापतिको उम्मेदवारीमा दाबी गर्दै आउनुभएको छ । यद्यपि सहमतिका आाधारमा एक मात्र उम्मेदवार बनाउन सकिए कतिपय नेताहरुले पछि हट्न सकिने बताउनुभएको थियो ।

भेलामा अधिकांश केन्द्रीय सदस्यले सो समूहबाट सभापतिमा सहमतिका आधारमा एक मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिनुभएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिनुभयो । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामका बारेमा भेलामा समीक्षा हुनाका साथै भावी नेतृत्वमा सहमतिको प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग चरणबद्ध रुपमा छलफल थाल्नुभएको छ । पछिल्लो पटक सभापति देउवा निकट मानिनुभएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी थाल्नुभएको छ । संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker