तनहुँमा ३ वर्षीया बालिका र शिक्षक सहित चार जना कोरोना संक्रमित थपिए

भञ्ज्याङसमाचारदाता, दमौली
तनहुँमा बुधबार ३ वर्षीया बालिका र शिक्षक सहित ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा व्यास नगरपालिका, भानु नगरपालिका र देवघाट गाउँपालिकामा गरि ४ जना कोरोना संक्रमित थपिएको उल्लेख गरिएको छ ।
चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा भानु-१ की ३ वर्षीया बालिका र देवघाट -५ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सम्बन्धित अस्पतालको आईसोलेसमा उपचाररत रहेको बताइएको छ ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र,पोखराको प्रयोगशालामा गरिएको परिक्षण अनुसार व्यास-१२ का ५० वर्षीय पुरुषमा र व्यासका ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएका संक्रमित मध्ये ५० वर्षीय संक्रमित कृषि सामग्री कम्पनि लिमिटेडमा कार्यरत र ५१ वर्षीय संक्रमित स्थानीय एक विद्यालयका शिक्षक रहेको स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी गराएका छन् ।










