व्यासगुफा परिसरमा एकमहिने महामिलन पर्व सुरु

दमौली : भगवान वेदव्यासको अवतरणभूमि दमौलीमा विश्व ओमकार हिन्दू महामिलन पर्व एवं श्रीमद्भागवत ज्ञानमहायज्ञ सुरु भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा व्यासगुफा परिसरमा आजदेखि सुरु भएको महामिलन पर्व कात्तिक महिनाभर सञ्चालन गरिदैछ। महामिलन पर्वका अवसरमा शनिबार दमौली बजारमा सांस्कृतिक झाँकी निकालिएको थियो ।

यस वर्षको महामिलन पर्व दशौँ संस्करण रहेको समितिका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए। महामिलन पर्वकै अवसरमा कात्तिक ९ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने उनले बताए। मुलुकमा शान्ति कायम गर्न र लोकको कल्याण होस् भन्ने कामनासहित महायज्ञ सञ्चालन गरिने उनले बताए ।

एक महिनासम्म चल्ने महामिलन पर्वमा भने वेदहरुसँग सम्बन्धित विषयमा छलफल गरिनेछ । कात्तिक महिनाभर विद्वानहरुको उपस्थितिमा विविध विषयमा छलफल हुने उनले उल्लेख गरे। उनले भने, ‘महामिलन पर्वमा ओमकार परिवारसँग आबद्ध सबैलाई आमन्त्रण गरिएको छ ।’

व्यासभूमिको प्रचारप्रसार गर्दै धार्मिक गन्तव्यस्थल बनाउने उद्देश्यसहित हिन्दू महामिलन पर्व आयोजना गरिएको हो । व्यासभूमि दमौलीमा विसं २०७३ जेठ ५ गते स्थापित वेदानुयायी प्रतिष्ठान नेपालले धर्मको संरक्षण र संवर्द्धन गर्ने हेतुले व्यासको साधनाभूमि दमौलीमा दामोदर बाबाको संत्संकल्प र संरक्षकत्वमा १८ महिने अखण्ड हरिनाथ संकीर्तन सम्पन्न गरी प्रत्येक वर्ष कात्तिक महिनामा ओमकार हिन्दू महामिलन पर्व हुँदै आएको छ ।

महामिलन पर्वमा दैनिक भगवत्वपूजा अर्चना, रुद्राभिषेक, हवन, श्रीमद्भागवत पाठपारायण, भागवत रसमर्मज्ञ, विशिष्ट विद्वान तथा सन्तहरुको आध्यात्मिक प्रवचन, हरिनाम संकीर्तन, विभिन्न जातिका मौलिक संस्कार र संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

काफ्लेले भने, “व्यास जन्मभूमिलाई विश्वसामु चिनाउने कार्यक्रमको मुख्य उद्देश्य हो । यसमा सबै संघसंस्था, व्यक्ति, पत्रकार, राजनीतिक दलको साथ र सहयोग आवश्यक पर्दछ ।” धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको जनाइएको छ ।

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरिए पनि सोचेअनुरुप काम भने अगाडि बढ्न सकिरहेको छैन ।

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको विश्वास गरिन्छ । व्यास गुफाको पारिपट्टि पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ। व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।

व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री संगम भएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker