तनहुँको मानहुँकोट जान वडा कार्यालयको अनुमति लिनुपर्ने, दैनिक तीन सय पर्यटकलाई मात्र जान दिइने

सार्वजनिक शौचालय लगायत अत्यावश्यक भौतिक संरचना निर्माणका लागि बजेटको व्यवस्थापन, जग्गाको कारोबार गर्न रोक

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोरोना कहरका बीच पनि आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास भएको तनहुँको मानहुँकोट जान अब सम्बन्धित वडा कार्यालयको अनुमति लिनुपर्ने भएको छ । दशैपर्व लगत्तै व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा एकाएक आन्तरिक पर्यटकको अप्रत्यासित रुपमा ओइरो लागेपछि व्यास नगरपालिकाले यो निर्णय गरेको हो ।

व्यास नगरपालिकाले आइतबार मानहुँकोटमै नगर कार्यपालिकाको बैठक आयोजना गरी अहिले कोरोना संक्रमण जोखिम कायमै रहेको र मुलुकका विभिन्न ठाउँबाट पर्यटकहरु मानहुँकोट आउने क्रम तीब्र भएकाले भाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै व्यवस्थापनका लागि वडा कार्यालयलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ ।

मानहुँकोटबाट देखिएको दमौली बजार र आसपासको क्षेत्र । तस्विर : नारायण खड्का/भञ्ज्याङ

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आगामि २५ गतेदेखि मानुङकोट जाने पर्यटकले वडा कार्यालयमा अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षा सम्बन्धी मापदण्डको पुर्णरुपमा पालना गरेर मात्र मानुङ क्षेत्रको दृश्यावलोकनका लागि प्रवेश गराउने निर्णय गरेको वडा नं. ५ को वडाअध्यक्ष एवं नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

उक्त बैठकले मानहुँकोट आउने पर्यटकको विवरण संकलन, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन मिलाउने जिम्मा पनि वडा कार्यालयलाईनै दिइएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘बैठकले कोरोना संक्रमण जोखिमलाई ध्यान दिंदै अबका दिनमा वडाको अनुमतिमा दैनिक तीन सय जनासम्म पर्यटकलाई मानहुँकोटबाट दृश्यावलोकनका लागि प्रवेशानुमति प्रदान गर्ने निर्णय गरेको छ ।’

कार्यपालिका बैठकले मानहुँकोटमा पर्यटकीय गतिविधि बढेसंगै जग्गा कारोबारीहरुको पनि चहलपहल बढेको भन्दै मानुङकोट क्षेत्रका सार्वजनीक जग्गाहरु एकिन गरी अभिलेख राखी सोको संरक्षण गर्ने निर्णय गरेको छ । बैठकले आगामि पौष मसान्तसम्म मानहुँकोट क्षेत्रका कुनैपनि जग्गाको कारोबार गर्न रोक लगाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।

बसाइ सराइका कारण खण्डहर बनेको मानहुँकोटको बस्ति । तस्विर : नारायण खड्का/भञ्ज्याङ

त्यस्तै, मानहुँकोटमा पर्यटकको आवगमन बढेसंगै आवश्यक भौतिक पूर्वाधार निर्माणलाई तीब्रता दिने तयारी गरेको छ । बैठकले मानहुँमा सार्वजनीक शौचालय निर्माण लगायतका अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्ने तत्काल २५ लाख रुपैयाँ विनियोजन गर्ने र अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न संघ संस्थाहरुसंग साझेदारीका लागि प्रस्ताब आव्हान गर्ने समेत बैठकले निर्णय गरेको छ ।

मानुङकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना निर्माण गरिने भएको छ । यस्तै, मानहुँको खानेपानी समस्या समाधानका लागि खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामि पौष मसान्तसम्म गुरुयोजना निर्माण तयार गरिने र यो अबधिसम्म मानहुँकोट क्षेत्रको जग्गा रजिष्ट्रेशन सम्बन्धि कार्यको सिफारीस बन्द गरिने भएको छ ।

तनहुँको मानहुँकोटमा आइतबार बसेको व्यास नगरपालिकाको नगर कार्यापालिकाको बैठक । तस्विर : नारायण खड्का/भञ्ज्याङ

बैठकले नगर स्तरीय अस्पताल अध्ययन समितिको म्याद मंसिर मसान्तसम्म थप गर्ने, रोटरी क्लबबाट प्राप्त पिसिआर मेसिनको सञ्चालनका लागि दातृ निकायसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, नगरपालिकाको वडागत सिमा हेरफेर अध्ययन समितिलाई आगामि बैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ भने, किसानहरुको माग बमोजिम आलुको विऊ व्यवस्थापन गर्न सम्बन्धित शाखा र वडालाई जिम्मा दिने निर्णय बैठकले गरेको छ ।

कोभिड-१९ को संक्रमण विस्तारीत हुँदै गएकाले र्सतर्कता एवं साबधानि अपनाउन प्रचार प्रसार गर्ने, सुरक्षीत होम आईसोलेसन भएमा मात्र होम आईसोलेसनमा बस्न दिने अन्यथा संस्थागत आईसोलेशनमानै राख्ने व्यवस्था मिलाउन स्वास्थ्य शाखालाई बैठकले निर्देशन दिएको छ । यस्तै, विपद् व्यवस्थापन गर्न तत्काल एक हजार थान जाली र आबश्यक मात्रामा हृयूम पाईप नियमानुसार खरिद गर्ने लगायतका निर्णय बैठकमा भएको नगरपालिकाले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker