प्रेस सेन्टर तनहुँको अध्यक्षमा अस्मिता, दुई पत्रकार पुरस्कृत

दुलेगौंडा : प्रेस सेन्टर तनहुँको अध्यक्षमा अस्मिता खनाल निर्वाचित भएकी छन् । शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिसोर्टमा भएको पाँचौ जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ नेतृत्वमा सर्वसम्मत चयन भएकी हुन् ।
नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्था प्रेस सेन्टर तनहुँको उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा विनोद ढुंगाना, कोषाध्यक्षमा सावित्रा कोइराला, सहसचिवमा सुष्मा गुरुङ चयन भए ।
सदस्यमा विनिता भण्डारी, अनिता गुरुङ, सुष्मा सेन्चुरी सहित ११ सदस्यीय कार्यसमितिमा चयन गरिएको छ भने, तीन जना पछि मनोनित गरिनेछ ।
यस्तै, उक्त अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन् । कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट उज्जवल पौडेल र त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कारबाट अस्मिता खनाल पुरस्कृत भएका हुन् ।

पौडेल नेपाल पत्रकार महासंघको निर्वतमान अध्यक्ष र खनाल निर्वतमान उपाध्यक्ष हुन् । दुवै पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ ।
उक्त अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जनतालाई परिवर्तनको अनुभूति हुन नदिन पूराना दलहरुले भूमिका खेलिरहेकाले प्रेस सेन्टरले चेतना जगाउनुपर्ने बताए । माओवादी परीवर्तनका लागि लागिरहेको सन्देश फैलाउन अनुरोध गर्दै उनले उत्पादन संघर्षमा लाग्नुपर्ने जोड दिए ।
प्रेस सेन्टर नेपालका उपमहासचिव एवं गण्डकी प्रदेश इञ्चार्ज दीपक श्रेष्ठले संगठन संख्यामा भन्दा विचारमा चलायमान बनाउनुपर्ने बताए । उनले मिडिया हाउस बलियो भएमा पत्रकार सक्षम हुने उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्र तनहुँका संयोजक ओमराज आले (मदन)ले पाठकलाई सत्यतथ्य सूचना सम्प्रेषणमा खडेरीको महशुस हुन नदिन आग्रह गरे ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु)ले पत्रकार अध्ययनशील हुनुपर्ने बताए । ‘समाजको अध्ययन गरेर निष्कर्ष आम मानिसलाई बुझाउनुपर्छ’, उनले भने । प्रविधिको प्रयोग गर्र्दै डिजिटल मिडियामा जोड दिनुपर्ने उनको भनाइ थियो ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबहादुर घलले पत्रकारले सदैव खबरदारी गर्नुपर्ने बताए ।
प्रेस सेन्टरका अध्यक्ष सानेबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टर तनहुँका संस्थापक उज्जवल पौडेल, केन्द्रीय सदस्य अस्मिता खनाल, नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिका अध्यक्ष शरण सापकोटा, पत्रकार अशोक विश्वकर्मा, विनोद ढुंगाना लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।










